
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुदर्शन चक्र मिशन नामक रक्षा पहल थाल्ने घोषणा गरेका छन् ।
गत साता भारतको स्वतन्त्रता दिवसको अवसरमा मोदीले यस सुदर्शन चक्रबाट आतंकवादी आक्रमण रोक्ने मात्र नभई आतंकवादीलाई प्रहार गर्न पनि सकिने बताएका छन् ।
भारतको सैन्य, गैरसैन्य र धार्मिक स्थानहरूलाई शत्रुको सम्भावित आक्रमणबाट यसले जोगाउने बताइएको छ । यस परियोजना अन्तर्गत नयाँ हतियार विकसित गर्ने र भारतको स्वदेशी रक्षा क्षमता विस्तार गर्ने लक्ष्य पनि लिइएको छ ।
द्वापर युगमा भगवान् श्रीकृष्णले सुदर्शन चक्र चलाएर उत्तराका गर्भमा रहेका परीक्षितलाई अश्वत्थामाको अस्त्रबाट बचाएको उदाहरण दिँदै मोदीले यस शक्तिशाली हतियारले आतंकवादी आक्रमण रोक्ने मात्र नभई आतंकवादीलाई नै सिध्याउने पनि बताए ।
आगामी १० वर्षभित्रमा यस राष्ट्रिय सुरक्षा कवचलाई विस्तार, सुदृढीकरण र आधुनिकीकरण गर्ने उनको भनाइ छ ।
यसको अनुसन्धान, विकास र उत्पादन भारतमै गरिने उनले बताए । यस मिशनले इजरायलको आइरन डोम जस्तो किसिमको कवच भारतलाई उपलब्ध गराउने उनी बताउँछन् ।
यो हतियार भारतका विभिन्न स्थानमा तैनाथ गरिनेछ ।
मोदीका अनुसार, सुदर्शन चक्रले शत्रुमाथि निगरानी, शत्रुको क्षेप्यास्त्रलाई बाटैमा रोक्ने र शत्रुविरुद्ध प्रत्याक्रमण सबै काम गर्नेछ । स्थल, जल र समुद्र तीनै ठाउँबाट आउने जोखिमलाई यसले सामना गर्नेछ ।
यस प्रविधिबाट सबै भारतीय नागरिकले सुरक्षित अनुभव गर्ने मोदीको भनाइ छ ।
करिब तीन महिनाअघि भारतीय वायुसेनाले पाकिस्तानको क्षेप्यास्त्र आक्रमण रोक्नका लागि रुसमा बनेको एस–४०० क्षेप्यास्त्रनिरोधी प्रणाली उपयोग गरेको थियो । भारतीय सेनाले त्यसलाई पनि सुदर्शन चक्र भन्ने गरेको छ । अपरेशन सिन्दूरपछि पाकिस्तानले भारतको उत्तरी र पश्चिमी क्षेत्रमा रहेका सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको थियो । भारतले त्यसलाई रोकेर लाहोर नजिक रहेको पाकिस्तानी वायु रक्षा प्रणालीलाई तारो बनाएको थियो ।
भारतले प्रोजेक्ट कुशमा पनि काम गरिरहेको छ । डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेशनले भारत इलेक्ट्रोनिक्स लिमिटेडसँग मिलेर यो लामो दूरीको जमिबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली विकसित गरेको हो ।








प्रतिक्रिया