
काठकाडौं । युनाइटेड टेलिकम कम्पनी (यूटीएल)ले ८ वर्ष अल्झाइदिएको गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क निर्माण गर्ने काम अन्ततः नेपाल टेलिकमले पाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ वैशाख २५ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी २ अर्ब १ करोड रुपैयाँमा यूटीएललाई २ वटा प्रदेशमा अप्टिकल फाइबर विच्छाउने जिम्मा दिएको थियो । तर, यूटीएलले कामै गर्न नसकेको र उसको लाइसेन्ससमेत खारेजीमा परेका कारण नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि उक्त्त कम्पनीले पाएको यो परियोजना अब नेपाल टेलकले बनाउने भएको छ ।
टेलिकमले १ अर्ब ७७ करोड रुपैयाँमा तीन वर्षभित्र बनाउने गरी दूरसञ्चार प्राधिकरण र दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलकम)सँग सम्झौता भएको छ । प्राधिकरणले शुक्रबार उक्त परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । प्राधिकरणले टेलिकमलाई यो परियोजना निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक अर्ब ७७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
१० वर्षअघि परियोजनाको कुल लम्बाई २ हजार ११७ किलोमिटर रहेकोमा हालसम्म टेलिकमले आफ्नो नेटवर्क विस्तार गर्दा २ हजार किलोमिटर बनाइसकेका कारण अब १ हजार ९१५ किलोमिटर मात्र नयाँ नेटवर्क निर्माण गर्नुपर्ने छ । दूरी घटेकै कारण यस अघि यूटीएलले पाएको भन्दा टेलिकमले अहिले पाएको परियोजनाको लागत पनि कम हुन पुगेको दूरसञ्चार प्राधिकरणको भनाइ छ ।
यो सम्झौतासँगै अब टेलिकमल आगामी तीन वर्षभित्र गण्डकी र लुम्बिनी प्रदेशमा अब्टिकल फाइबर परियोजना सम्पन्न गर्नुपर्नेछ । यो प्याकेज अन्तर्गत दुई प्रदेशका २३ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नुपर्ने शर्त दूरसञ्चार प्राधिकरणको छ ।








प्रतिक्रिया