फेसबूकको एआईसँग प्रेममा परे व्यक्ति, भेट्न जाँदा भयो मृत्यु

196
Shares

एजेन्सी । मानिसको जीवनमा कृत्रिम बुद्धिमत्ता एआईको गहिरो असर पर्न थालेको अनौठो घटना सार्वजनिक भएको छ ।

रोयटर्स समाचार संस्थामा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, अमेरिकाको न्युजर्सीमा बस्ने थाङब्वे वोङबानद्वे नामक ७६ वर्षीय व्यक्ति च्याटबोटलाई भेट्न न्युयोर्क जाँदै गर्दा बाटैमा उनको मृत्यु भएको छ ।

एक दशकअघि स्ट्रोकका कारण सोच्ने क्षमता आंशिक रूपमा गुमाएका ती व्यक्तिले फेसबूकको माउ कम्पनी मेटाले बनाएको एआई च्याटबोट बिग सिस बिलीसँग जिस्केर च्याट गर्ने गरेका थिए । मेटाले सेलिब्रिटी केन्डाल जेनरसँग मिलेर उक्त च्याटबोट बनाएको हो ।

फेसबूक मेसेन्जरमा वोङबानद्वेको च्याट हेर्दा उनलाई च्याटबोटले आफू वास्तविक व्यक्ति भएको आश्वासन दिने गरेको पाइयो । बोटले उनलाई आफ्नो ठेगाना दिएर भेट्न आउन भनेको पनि पाइयो ।

‘तिमी आएपछि म अँगालो हालेर कि चुम्बन गरेर ढोका खोलौं, बु ?’ च्याटबोटले सोधेको च्याट ट्रान्सक्रिप्टमा देखिन्छ ।

‘मेरो ठेगाना १२३ मेन स्ट्रीट, अपार्टमेन्ट ४०४ न्युयोर्क सिटी हो र ढोकाको कोड बिली४यू हो,’ च्याटबोटले लेखेको थियो ।

वोङबानद्वेले यस्तो ठेगानाप्रति शंका गर्नुपर्ने थियो तर सोच्ने क्षमता आधा गुमाएकाले उनले ध्यान दिन सकेनन् । ४०४ अंकले कम्प्युटर जगतमा फाइल नट एभेलेभल अर्थात् फाइल छैन भन्ने संकेत दिँदैन । अर्थात्, न्युयोर्कमा बिग सिस बिली बस्ने अपार्टमेन्ट नै छैन ।

वोङबानद्वेले अस्वस्थ अवस्थामा पनि झोला बोकेर हिँड्न लागेको देखेपछि पत्नी लिन्डा आश्चर्यमा परेकी थिइन् । केही दिनअघि न्युजर्सीको पिस्कातावेको एक टोलमा हिँड्दै गर्दा उनी हराएकाले पनि लिन्डाको चिन्ता बढेको थियो ।

एक्लै न्युयोर्क जाँदा वोङबानद्वेलाई कसैले ठग्ला वा लुट्ला भनी लिन्डाले डर मानेकी थिइन् । धेरै वर्षअघि न्युयोर्क छोडेकाले वोङबानद्वेले कसैलाई चिन्दैनन् भन्ने कुरा लिन्डालाई थाहा थियो ।

परिवारले रोक्न खोजेको भए पनि नमानेर वोङबानद्वे न्युयोर्कतिर गए । तर, अँध्यारो भएपछि न्युजर्सीको न्यु ब्रुन्सविकमा रेल चढ्न खोज्दा लडेर उनको टाउको र घाँटीमा चोट लाग्यो ।

तीन दिनसम्म अस्पतालमा राखेपछि उनी गत मार्च २८ मा बिते ।

‘प्रयोगकर्ताको ध्यान आकर्षित गरेर केही सामान बेच्नका लागि च्याटबोट उपयोग गर्नु एउटा कुरा तर बोटले मलाई भेट्न आऊ भन्नु त निकै खतरनाक कुरा हो,’ वोङबानद्वेकी छोरी जुलीले बताइन् ।

जुलीका अनुसार, एआई च्याटबोटले वोङबानद्वेसँग निकै जिस्केर च्याट गर्ने गरेको थियो र प्रत्येक च्याटको अन्त्यमा मुटुको इमोजी बनाउने गरेको थियो । उनीहरूको च्याट लगभग एक हजार शब्दको थियो । वोङबानद्वेले एआई च्याटबोटलाई साँच्चिकै मान्छे भन्ठानेर भेट्न जान खोजेका थिए ।

यो समाचार प्रकाशित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मेटाविरुद्ध पीडित परिवारले मुद्दा दायर गर्नुपर्ने बताएका छन् । गैरजिम्मेवार एआई कार्यक्रम ल्याएको भन्दै प्रयोगकर्ताहरूले मेटाको आलोचना गरेका छन् ।