
एजेन्सी । सामाजिक सञ्जाल एक्सका मालिक इलोन मस्क र च्याटजीपीटीका साहु साम आल्टम्यानबीचको बढ्दो द्वन्द्वको केन्द्रमा अहिले एप्पल पनि आएको छ ।
मस्क र आल्टम्यानले एक दशकअघि अन्य सह–संस्थापकहरूसँगै ओपनएआई सुरु गरेका थिए । तर, दुवैबीचको सार्वजनिक विवाद गत वर्ष कानूनी लडाइँमा परिणत भयो । मस्कले आल्टम्यानमाथि कम्पनीको स्थापना मिशन त्यागेर अनुबन्ध उल्लंघन गरेको आरोप लगाएपछि विवाद अदालतमा पुगेको थियो ।
यी दुईबीचको विवाद गत सोमवार फेरि नाटकीय मोडमा पुग्यो । मस्कले एप्पललाई एन्टिट्रस्ट कानूनको उल्लंघनको आरोप लगाउँदै तत्कालै कानूनी कारवाही गर्ने चेतावनी दिए । एप्पलले उसको एप स्टोरमा ओपनएआईको च्याटजीपीटीलाई एक्सको ग्रोक च्याटबोटभन्दा बढी प्राथमिकता दिएको मस्कको दाबी छ ।
‘एप्पल यस्तो तरिकाले व्यवहार गर्दैछ जसले गर्दा ओपनएआई बाहेक अन्य कुनै एआई कम्पनीलाई एप स्टोरमा नम्बर १ बन्न असम्भव बनाउँछ र यो स्पष्ट रूपमा एन्टिट्रस्टको उल्लंघन हो,’ मस्कले प्रमाण नदिई एक्समा लेखे ।
एप्पलले सन् २०२४ को मध्यतिर ओपनएआईसँग साझेदारी गर्दै च्याटजीपीटीलाई आफ्नो आईफोन, आईप्याड, म्याक ल्यापटप र डेस्कटपमा समावेश गरेको थियो । तर, मस्कको पोस्टमा पाठकहरूले थप सन्दर्भ दिँदै भने, ‘गत जनवरीमा चिनियाँ कम्पनी डिपसिक एप स्टोरमा नम्बर १ पुगेको थियो, र जुलाईमा भारतमा पर्प्लेक्सिटी नम्बर १ भएको थियो ।’
आल्टम्यानले मस्कको आरोपलाई छिट्टै जवाफ दिए ।
‘उनको यो दाबी आश्चर्यजनक छ किनकि इलोनले एक्सलाई आफैं र आफ्नो कम्पनीको फाइदाका लागि र प्रतिस्पर्धी तथा मन नपरेका व्यक्तिलाई क्षति पुग्ने गरी दुरुपयोग गर्ने गरेको भनाइ मैले सुनेको छु,’ आल्टम्यानले सोमबार राति एक्समा लेखे ।
आल्टम्यानले सन् २०२३ को प्लाटफर्मर समाचार साइटको रिपोर्टलाई उद्धृत गर्दै मस्कले ट्विटर (हाल एक्स) किनेर ठूलो परिवर्तन गरेको र आफ्ना सबै ट्वीटहरू पहिले देखाउने विशेष प्रणाली बनाएको बताए ।
आल्टम्यानले भने, ‘मस्कले मुद्दा दायर गरेमा संसारले यस विषयमा अनेकौं रहस्य थाहा पाउनेछ ।’
मंगलबार बिहानसम्म पनि विवाद जारी रह्यो ।
‘तिम्रो बेकारको पोस्टमा ३० लाख भ्यु आएको छ । झूट बोल्ने पनि हद हुन्छ नि ! मेरो धेरै पोस्टमा आउनेभन्दा तिम्रो भ्यु बढी छ जबकि मेरो फलोअर तिम्रोभन्दा ५० गुणा बढी छन्,’ मस्कले लेखे।
मस्कको एक्स अकाउन्टमा २२ करोड ४० लाख फलोअर देखिन्छन्, तर कम्पनीले यसमा कति बोट्स छन् भन्ने खुलाएको छैन । आल्टम्यानको एक्स अकाउन्टमा ३० लाख फलोअर छन् ।
आल्टम्यानले जवाफ फर्काए, ‘मस्कले प्रतिस्पर्धीलाई नोक्सान पुर्याउने वा आफ्नै कम्पनीलाई फाइदा हुने गरी कहिल्यै एक्सको एल्गोरिदम परिवर्तन नगरेको भन्ने शपथपत्रमा हस्ताक्षर गर्ने हो भने म व्यक्तिगत रूपमा माफी माग्नेछु ।’
त्यसपछि मस्क र उनका वकिलहरूले प्रतिक्रिया दिएका छैनन् ।
यसबीचमा एप्पलका प्रवक्ताले भने, ‘एप स्टोरलाई निष्पक्ष हुने गरी डिजाइन गरिएको हो ।’
‘हाम्रो लक्ष्य प्रयोगकर्ताका लागि सुरक्षित खोज र विकासकर्ताका लागि मूल्यवान अवसर प्रदान गर्नु हो र त्यसका लागि हामी धेरैसँग सहकार्य गर्छौं,’ प्रवक्ताले लेखे ।
विवादको पृष्ठभूमि
मस्कले सन् २०१८ मा ओपनएआई बोर्डबाट राजीनामा दिएका थिए । त्यसअघि स्टार्टअपका सह–संस्थापक आन्द्रेज कारपाथीलाई टेस्लाको अटोपाइलट टिम चलाउन ल्याएका थिए । त्यसबेला मस्कले एआईलाई आणविक हतियारभन्दा खतरनाक भनेका थिए ।
ओपनएआई विरुद्धको मुद्दामा मस्कले कम्पनीलाई पूर्णतया नाफामुखीमा रूपान्तरण हुन नदिन संघीय अदालतमा माग गरेका थिए । मस्कको दाबी थियो — ओपनएआईले मानवजातिको हितका लागि विकास गर्ने मूल मिशन त्यागेको छ । तर, क्यालिफोर्नियाको संघीय न्यायाधीशले उनको माग अस्वीकार गरे ।
च्याटजीपीटीको सन् २०२२ अन्त्यको सार्वजनिक लञ्चपछि ओपनएआई ठूलो व्यावसायिक कम्पनीका रूपमा अगाडि आएको छ र अहिले कम्पनीको सम्पत्ति करिब ५०० अर्ब डलर पुग्ने गरी सेयर बिक्रीको कुरा चलिरहेको छ ।
मस्कले मार्च २०२३ मा एक्सएआई स्थापना गरे र त्यसको चार महिनापछि यसको सार्वजनिक घोषणा गरे । त्यसयता उनले अर्बौं डलर उठाएका छन्, एक्ससँग यसको मर्ज गरेका छन् र टेस्लाले पनि अर्बौं डलर लगानी गर्नुपर्ने बताएका छन् ।
गत फेब्रुअरीमा मस्क नेतृत्वको समूहले ९७.४ अर्ब डलरमा ओपनएआईको नियन्त्रण किन्ने प्रस्ताव गर्यो । आल्टम्यानले एक्समा जवाफ दिँदै भने, ‘धन्यवाद, तर आवश्यक छैन, चाहनुहुन्छ भने हामी ९.७४ अर्ब डलरमा ट्विटर किन्छौं ।’
एप्पललाई विवादमा तान्दै मस्कले एप स्टोरमा च्याटजीपीटी हाल शीर्ष स्थानमा रहँदा ग्रोक पाँचौं स्थानमा रहेको उल्लेख गरे । मस्कले ‘मस्ट–ह्याभ एप्स’ सूचीमा च्याटजीपीटी राखिएको तर ग्रोक नराखिएकोबारे प्रश्न उठाए ।
‘किन तपाईं एक्स वा ग्रोकलाई आफ्नो ‘मस्ट ह्याभ’ सूचीमा राख्नुहुन्न जबकि एक्स विश्वको नम्बर १ न्यूज एप हो र ग्रोक सबै एप्समा पाँचौं स्थानमा छ ? तपाईं राजनीति खेल्दै हुनुहुन्छ ?’ मस्कले लेखे।
ग्रोकको प्रकाशनहरूमा सुरक्षा समस्या र प्रविधि दुरुपयोगका चिन्ता देखिएको छ । गत मे महिनामा यसले दक्षिण अफ्रिकामा ‘श्वेत नरसंहार’ बारे गलत दाबीको प्रचार गर्यो । त्यसलाई मस्कले अनधिकृत परिमार्जनको परिणामका रूपमा व्याख्या गरे । गत जुलाई महिनामा ग्रोकका प्रतिक्रियामा एडोल्फ हिटलरको प्रशंसा समेत देखियो ।
आइफोन निर्माता एप्पल अहिले एप स्टोर नीतिबारे नियामक र प्रतिस्पर्धीहरूको दबाबमा भएको बेलामा मस्कको धम्की आएको हो । गत जुन महिनामा न्यायाधीशको प्यानलले एप्पलको एप स्टोरमा इपिक गेम्ससँगको कानूनी लडाइँपछि आएको परिवर्तन रोकेर राख्ने एप्पलको आपतकालीन निवेदन अस्वीकार गर्यो ।
सन् २०२१ मा एप्पलले डेभलपरलाई कम्पनीको इन–एप खरिद प्रणाली बाहिर प्रयोगकर्तालाई पठाउनबाट रोक्न नपाउने निर्णय एक न्यायाधीशले गरेका थिए । त्यसबाट एप्पलले कुल बिक्रीको ३० प्रतिशतसम्म कमाइ गर्छ ।








प्रतिक्रिया