
एजेन्सी । इजरायलको सेनाले गाजापट्टिमा नयाँ आक्रमणको योजना स्वीकृत गरेको छ । नेतान्याहु सरकारले गाजा शहरलाई नियन्त्रणमा लिनका लागि आह्वान गरेपछि इजरायली सेनाले योजना बनाएको हो ।
इजरायलका सेनाप्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले गाजापट्टिमा इजरायल डिफेन्स फोर्सेसको कारवाहीको मुख्य संरचनालाई स्वीकृत गरिएको बताए ।
गाजा शहरमा इजरायली सैनिकहरू कहिले प्रवेश गर्ने भनी नेतान्याहु सरकारले समयतालिका उपलब्ध गराएको छैन । गाजामा भइरहेका आक्रमणबाट बच्न हजारौं प्यालेस्टाइनीहरू शहरमा आश्रय लिइरहेका छन् ।
इजरायलले हालैका दिनमा गाजा शहरमा हवाई आक्रमण बढाएको छ । जेतुन र साब्रा टोलमा सर्वसाधारण बस्ने अग्ला भवनमा हवाई आक्रमण भइरहेको छ ।
यसैबीच प्यालेस्टाइनी समूह हमासले आफ्ना एक प्रतिनिधि इजिप्टका अधिकारीहरूसँग कुरा गर्न कायरो पुगेको बताएका छन् । इजरायल र हमासबीच अस्थायी युद्धविरामका लागि प्रारम्भिक वार्ताका लागि ती प्रतिनिधि त्यहाँ पुगेका हुन् ।
गाजामा विगत २२ महिनादेखि चलिरहेको युद्धलाई थप विस्तार गर्न नेतान्याहु सरकारले योजना बनाएको छ । तर, यसमा युद्धमा इजरायलले अनेकौं अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ र इजरायलमै पनि विरोध चर्किएको छ ।
इजरायलले मानवीय सहायता रोकेकाले गाजामा व्यापक रूपमा भोकमरी फैलिएको छ ।
हमासले सन् २०२३ को अक्टोबरमा इजरायलमाथि आक्रमण गरी १२ सय १९ जनाको हत्या गरेपछि इजरायलले चलाएको युद्धमा ६१ हजार ५ सय ९९ प्यालेस्टाइनीहरूको हत्या भइसकेको छ ।







प्रतिक्रिया