
एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ब्रिक्स व्यापार मुद्राको पैरवी गर्दै अमेरिकी डलरमा भर पर्न नसकिने बताएका छन् ।
ब्रिक्सका सदस्य राष्ट्रहरूका बीच हुने व्यापारमा वैकल्पिक मुद्राहरूको परीक्षण गरिनुपर्ने उनको भनाइ छ ।
हालै सार्वजनिक भएका भिडियोहरूमा लुलाले भने, ‘हामी डलरलाई अस्तव्यस्त गराउन चाहँदैनौं । यो महत्त्वपूर्ण मुद्रा हो । तर ब्रिक्समा व्यापारका लागि एउटा मुद्रा आवश्यक छ । यसमा हामीले परीक्षण गर्नुपर्छ ।’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भन्सार शुल्कका रूपमा व्यापारयुद्ध चर्काएको स्थितिमा लुलाले ब्रिक्स करेन्सीको माग दोहोर्याएका हुन् । यस्तो मुद्राले अमेरिकी डलरमाथि विश्वको निर्भरता अन्त्य हुने उनको भनाइ छ ।
‘हामीले यसको परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘यो असफल भएपछि भने म गलत साबित हुनेछु तर कसैले मलाई गलत भनी विश्वस्त गराउनुपर्छ ।’
अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाएको छ । यसपछि लुलाले विश्व व्यापार संगठन र अन्य औपचारिक कूटनीतिक माध्यमबाट यस समस्याको समाधान खोजिने बताएका छन् । यस विषयमा आफूले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिधै कुराकानी नगर्ने लुलाको भनाइ छ ।
गत जनवरी महिनामा ट्रम्पले ब्रिक्स मुलुकहरूलाई नयाँ मुद्रा बनाएमा शतप्रतिशत आयातकर लगाउने सार्वजनिक चोतवनी दिएका थिए ।
त्यसपछि जुलाई महिनामा उनले ब्रिक्सको अमेरिकाविरोधी नीतिसँग जोडिने मुलुकहरूलाई अतिरिक्त १० प्रतिशत भन्सार शुल्क लगाइने र यसमा कुनै अपवाद नहुने स्पष्ट पारेका थिए ।








प्रतिक्रिया