
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की र युरोपेली नेताहरूसँग बुधवार भर्चुअल कुराकानी गर्ने भएका छन् ।
शुक्रवार अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्नुअघि ट्रम्पले जेलेन्स्कीसँग कुरा गर्न लागेका हुन् ।
युद्धविराम गराउनका लागि युक्रेनले डोनबास क्षेत्र छोड्नुपर्ने भनी रुसले राखेको प्रस्तावलाई अस्वीकार गर्ने जेलेन्स्कीले स्पष्ट पारेका छन् । डोनबार क्षेत्र रुसलाई दिएमा उसले भविष्यमा त्यो भूमि प्रयोग गरेर युक्रेनका अन्य क्षेत्रमा आक्रमण गरिरहने जेलेन्स्कीको भनाइ छ ।
ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि भूभाग साटासाट पनि गरिने बताएका छन् । युक्रेनले सम्पूर्ण डोनबास क्षेत्र छोड्नुपर्ने माग पुटिनले राखिरहेको बुझिन्छ ।
रुसले अहिले युक्रेनको लगभग २० प्रतिशत भूभागमा नियन्त्रण कायम गरेको छ ।
आजको कुराकानीमा जेलेन्स्की र युरोपली नेताहरूले ट्रम्पलाई वार्ता प्रक्रियामा युक्रेनलाई पनि समावेश गर्न र भूभाग त्याग्नका लागि बाध्य नगर्न आग्रह गर्ने अपेक्षा छ ।







प्रतिक्रिया