
एजेन्सी । अमेरिकाको अन्तरिक्ष निकाय नासाले सन् २०३० सम्ममा चन्द्रमामा आणविक रियाक्टर बनाउने भएको छ ।
चन्द्रमामा मानव बस्ती बसाउनका लागि अमेरिकाले प्रयास गरिरहेको छ र आणविक रियाक्टर त्यही लक्ष्यका साथ बनाइनेछ ।
अमेरिकाका यातायातमन्त्री सीन डफीलाई राष्ट्रपति डोनल्ड ट्रम्पले नासाको निमित्त प्रमुख बनाएका छन् । डफीले नासालाई आणविक भट्टी बनाउनका लागि निर्देशन जारी गरेका छन् ।
उक्त निर्देशनमा डफीले नासालाई सय किलोवाट विद्युत् उत्पादन गर्ने आणविक रियाक्टर बनाउनका लागि निजी कम्पनीहरूबाट प्रस्ताव माग गर्न भनेका छन् ।
वायुऊर्जामा उपयोग हुने विन्ड टर्बाइनले २ देखि ३ मेगावाट बिजुली निकाल्छ भने १०० किलोवाट रियाक्टरको क्षमता त्यसभन्दा कम हुनेछ ।
चन्द्रमामा आणविक रियाक्टर बनाउने भनी चीन र रुसले गत मे महिनामा घोषणा गरेपछि नासा पनि त्यसमा तातिएको छ ।
जापान र भारत लगायतका अन्य कैयौं मुलुकहरूले पनि चन्द्रमामा स्थायी मानव बस्ती बनाउने योजना बनाइरहेका छन् ।
तर, नासाले रियाक्टर बनाउनका लागि राखेको लक्ष्य र तोकेको म्यादका विषयमा विभिन्न आशंका गरिएका छन् किनकि नासाको बजेटमा व्यापक कटौती गरिएको छ । ट्रम्प प्रशासनले अर्को वर्षका लागि नासाको बजेटमा २४ प्रतिशत कटौती गरेको छ । उसले मंगल ग्रहबाट ढुंगा र माटोको नमूना ल्याउने कार्यक्रमको बजेट समेत घटाएको छ ।
नासाले सन् २०२२ मा पनि चन्द्रमामा आणविक रियाक्टर बनाउनका लागि ५० लाख डलर बराबरको ठेक्का लगाएको थियो । तर, त्यसमा काम सुस्त छ ।
रुस र चीनले घोषणा गरेपछि भने नासाले त्यसको कामलाई द्रुत गतिमा अघि बढाउन खोजेको छ । त्यसमाथि अमेरिकाले लगायतका सात मुलुकले हस्ताक्षर गरेको आर्टेमिस एकोर्ड्सले चन्द्रमामा सहकार्य गर्ने विषयमा सिद्धान्त बनाएका छन् । उक्त सम्झौतामा हस्ताक्षर गरेका मुलुकले आफ्नो पूर्वाधार भएको स्थानलाई सुरक्षा क्षेत्र घोषणा गर्न पाउँछन् ।
चीन वा रुसले चन्द्रमामा रियाक्टर वा अन्य कुनै संरचना बनाएमा त्यसलाई सुरक्षा क्षेत्र घोषणा गरी वरपरको क्षेत्रमा अरूलाई बन्देज लगाउलान् भनी अमेरिकाले डर मानेको छ । त्यसैले पनि आणविक रियाक्टर बनाउन उसले हतारो देखाइरहेको हो ।







प्रतिक्रिया