
एजेन्सी । पाकिस्तानले भारतविरुद्ध लगातार युद्धको चेतावनी दिँदै आएको छ ।
पाकिस्तानका पूर्व विदेशमन्त्री बिलावल भुट्टोले सिन्धु जल सन्धिलाई भारतले स्थगन गरिरहेमा युद्ध गर्नुको विकल्प नरहेको बताएका छन् ।
‘तपाईं पाकिस्तानीहरू सबै ६ वटा नदी फिर्ता लिनका लागि युद्ध गर्न सक्षम हुनुहुन्छ,’ उनले बताए, ‘भारतले जोरी खोजिरहेमा हामीले राष्ट्रिय हितका लागि युद्धको विकल्प समेत अपनाउनुपर्ने हुन्छ,’ उनले बताए ।
भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध विषवमन पनि गरे । ‘नरेन्द्र मोदीको नेतृत्वमा भारतीय सरकारको कदमले पाकिस्तानलाई ठूलो क्षति गरेको छ,’ उनले भने, ‘हामी एकजुट भएर मोदी र भारतको आक्रामकताविरुद्ध उभिनुपर्छ ।’
सिन्ध प्रान्तको संस्कृति विभागले सोमवार आयोजना गरेको कार्यक्रममा भुट्टोले यस्तो धारणा राखेका हुन् ।
‘हामीले युद्ध सुरु गरेका हैनौं,’ उनले बताए, ‘तर तपाईं सिन्दूर जस्तो आक्रमण गर्ने भनी सोच्नुहुन्छ भने पाकिस्तानका सबै प्रान्तका मानिस तपाईंसँग लड्न तयार छन् भन्ने कुरा बुझ्नुस् । यो युद्धमा तपाईं पक्का हार्नुहुनेछ । हामी झुक्दैनौं ।’
भुट्टोको यो भनाइअघि पाकिस्तानका सेनाप्रमुख असिम मुनीरले भारतसँग भविष्यमा हुने युद्धमा पाकिस्तानले अस्तित्वमा नै जोखिम रहेको अनुभव गरेमा आणविक युद्ध हुने र आधा विश्व ध्वस्त हुने बताएका थिए ।
‘हामी आणविक राष्ट्र हौं,’ उनले बताए, ‘हामी हा¥यौं भने हामीसँगै आधा संसार डुब्नेछ ।’
मुनीरले पाकिस्तानतिर प्रवाह हुने सिन्धु नदीको जललाई भारतले कुनै पूर्वाधार बनाएर रोकेमा आफूहरूले ध्वस्त पारिदिने बताएका थिए । अमेरिका भ्रमणका क्रममा मुनीरले भने, ‘हामीसँग क्षेप्यास्त्रहरूको कमी छैन । भारतले बाँध बनाओस् मात्र, हामी त्यसलाई १० वटा क्षेप्यास्त्र हानेर ध्वस्त पारिदिन्छौं । सिन्धु नदी भारतको पारिवारिक सम्पत्ति हैन ।’
सिन्धु जल सन्धिलाई निलम्बित गर्दा २५ करोड मानिस भोकमरीको शिकार हुने मुनीरले दाबी गरे ।
मुनीरले दिएको आणविक युद्धको धम्कीलाई भारतले भर्त्सना गरेको छ । आणविक हतियारको धम्की दिने काम पाकिस्तानले सधैं गर्ने गरेको भारतको भनाइ छ । तेस्रो मुलुकमा पुगेर यस्ता भनाइ राख्नु दुर्भाग्यपूर्ण भएको भारतको विदेश मन्त्रालयको भनाइ छ ।







प्रतिक्रिया