उद्योग बाणिज्य संघ चितवनको अध्यक्षमा प्रधान
चितवन । उद्योग वाणिज्य संघ चितवनको ५१औं साधारणसभा तथा ३५ औं अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन् । प्रधानले १ हजार ४८९ मत ल्याउँदा श्रेष्ठले एक हजार १४६ मत प्राप्त ल्याएका थिए ।
अधिवेशनमा प्रधान र श्रेष्ठको दुई प्यानलमा उम्मेदवारी परेको थियो । पदाधिकारी सबै प्रधान प्यानलका विजयी भएको संघका लेखा अधिकृत डम्मरराज गौतमले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ एक हजार ६१९ मतका साथ विजयी भए भने, वाणिज्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल, उद्योगतर्फको उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएका छन् ।
अधिवेशनले उद्योगतर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, सोमप्रसाद काप्री, सिद्धार्थलाल चुके, कृष्णप्रसाद रिजाल, चन्द्रमणि सापकोटा, रोहितकुमार श्रेष्ठ निर्वाचित गरेको छ । रिजाल भने श्रेष्ठ प्यानलमा थिए ।
वाणिज्यतर्फको सदस्यमा ईश्वरीप्रसाद खराल, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, लक्ष्मी रिमाल पौडेल, तारानाथ पाठक, थिरप्रसाद धिताल निर्वाचित भए ।
वस्तुगततर्फ शिव ओझा, विकाश थापा, दीपक पौडेल र किरण खनाल विजयी हुनुभएको छ । महिला सदस्यमा भने रजनी मास्के निर्वाचित भए भने, यअसघि नै यमबहादुर विक, शिरिष पन्त र रेशमलाल आचार्य निर्विरोध निर्वाचित भएका थिए ।
संघमा निवर्तमान अध्यक्षसहित कूल २९ जनाको कार्यसमिति रहनेछ । निर्वाचनमा ४६ जनाको उम्मेदवारी परेको थियो । पुस ३० गतेदेखि अधिवेशन शुरु भएको थियो । संघको निर्वाचनमा दुई हजार ८५६ जना सहभागी थिए । रासस