
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा शीर्ष दुई नेताबीचको सम्बन्धमा दरार देखिएको छ ।
नेकपा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको खटपट छताछुल्ल भएको छ ।
इमेज च्यानलमा दिएको अन्तर्वार्तामा एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्नु गल्ती भएको बताएका थिए ।
त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खनाललाई अब पार्टीमा बस्ने नैतिकता नरहेको भन्दै राजीनामा दिएर बिदा हुन भनेका थिए ।
जवाफमा खनालले नेपाललाई तानाशाही बनेको टिप्पणी गरेका थिए भने नेपालबाट आफूले त्यस्तो अपेक्षा नगरेको बताएका थिए ।
एक चरणको वाकयुद्ध सकिएपछि अध्यक्ष नेपालले फेरि फायर खोलेका छन् ।
उनले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिए ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्नेकुरा गर्न पार्टीको अनुशासन विपरित रहेको तर्क गरे ।
विद्रोहको औचित्य छैन भने एमालेमा गएर ओलीको सेवा गर्न उनले खनाललाई सल्लाह दिए ।
‘विद्रोहको औचित्य छैन भन्ने ? किन आउनुपर्यो ? विद्रोह ठिक लागेन भने केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !,’ झलनाथको नाम नलिइ अध्यक्ष नेपालले भने, ‘हामीले ठिक गरेका छौँ । दृढतताका साथ पहल गरेका छौँ ।’
पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनले निर्देशन दिए ।
‘पार्टीको हित र पक्षमा प्रचार प्रसार गर्नुपर्छ । पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ । विरुद्धमा होइन । मिडियामा जाने पार्टीको विरोध गर्ने ?’ उनले भने ।
संविधान मिच्ने, संसद विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको भनाइ छ ।
‘कसैले पार्टीको अनुशासन उल्लंघन गर्दछ, जथाभावी संविधान मिच्ने काम गर्दछ, संविधान मिचेर संसद भंग गर्दछ । भंग गरेको संसदलाई गफ गरेर पुनः स्थापना हुँदैन । त्यसलाई विधि र प्रक्रियाबाट पुनः स्थापना गर्न सकिन्छ । तर कस्ता पात्रहरु ज्याद्रा छन् भने दोस्रो पटक भंग गरे । फेरि हामी दोस्रो पटक लाग्नुपर्यो,’ नेपालले प्रश्न गरे, ‘त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नु हुँदैन थियो । केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो ? ठिक गर्यौं हामीले । संविधान जोगाउने मात्रै होइन, कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको थियो । हामीले रहरले त्यो पार्टी छोडेको होइन ।’
अब यसको जवाफ खनालले कसरी दिनेछन् त्यसका आधारमा एकीकृत समाजवादीका दुई नेताबीचको विवाद अघि बढ्ने देखिएको छ।







प्रतिक्रिया