निर्वाचन आयोगको कार्यविधिविरुद्ध १० दलको विरोध

119
Shares

काठमाडौं । निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’प्रति १० वटा राजनीतिक दलले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको दाबी गरेका छन् ।

संघीय कानुनको दुरुपयोग गर्दै निर्वाचन आयोगले प्रत्यायोजित विधायनको नाममा संसद् सरहको कानुनी मस्यौदा तयार पारेको भन्दै ती दलहरूले संघीय संसद्को अधिकारमाथि अतिक्रमण गरिएको आरोप लगाएका छन् ।

दुई ठूला दलको वर्चस्वलाई संस्थागत गर्ने उद्देश्यसहित कार्यविधि ल्याइएको भन्दै उनीहरूले उक्त प्रवृत्तिलाई अस्वीकार गर्ने बताएका छन् ।

‘राजनीतिक दलहरूको मूल्याङ्कन, सञ्चालन, रेखदेख तथा निर्देशन गर्ने प्रस्तावित व्यवस्था दलहरूको स्वतन्त्रता कुण्ठित गर्ने र प्रतिस्पर्धाबाट बाहिर राख्ने खतरा रहेको’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विरोध जनाउने दलहरूमा सत्तारुढ गठबन्धनका सदस्यहरू, प्रतिपक्ष र तटस्थ भूमिकामा रहेका साना दलहरू समेत रहेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै कार्यविधिप्रति असन्तुष्टि जनाउने दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टी छन् ।