
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याएपछि पनि त्रैमासको अन्तिममा ऋण तिर्न प्रयोग हुन नरोकिएको देखिएको छ । गत आर्थिक वर्षको अन्तिम साताको तथ्यांकले पनि ऋण तिर्न ऋणको प्रयोग भएको हो कि भन्न आशंकालाई थप बल पुर्याएको छ ।
असारको अन्तिम सातामा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले १८ अर्ब ६२ करोड रुपैयाँ कर्जा बढाएका छन् । असारमा बैंकहरु रिकभरीमा व्यस्त हुँदा नयाँ कर्जा लगानी हुने भन्दा पनि कर्जाको सावाँ र ब्याज भुक्तानी हुँदा खुद कर्जा वृद्धि हुने अवस्था हुँदैन । तर, असारको अन्तिम साता बैंकहरुको खुद कर्जा साढे १८ अर्बभन्दा धेरैले बढेको छ ।
असार अन्तिम साता वाणिज्य बैंकहरुले ११ अर्ब ७ करोडले कर्जा बढाउँदा विकास बैंकहरुले ६ अर्ब १२ करोड र फाइनान्सले १ अर्ब ६२ करोडले कर्जा बढाएका छन् । राष्ट्रिय स्तरको एउटा विकास बैंकले मात्रै असार अन्तिम सातामा डेढ अर्बले कर्जा बढाएको छ ।
नयाँ परियोजनामा ऋण लगानी भएको भन्दा पनि व्यवसायीले असारमा बैंकहरुको ब्याज तिर्न स्वीकृत भएको चालुपुँजी कर्जामा उपयोग गरेको बैंकरहरु नै स्वीकार गर्छन् । असारमा मात्रै नभएर हरेक त्रैमासको अन्तिममा यसरी नै ब्याज तिर्न स्वीकृत भएको कर्जा सीमाबाट बैंकहरुले ऋण प्रयोग गर्ने गरेका छन् ।
राष्ट्र बैंकले चालुपुँजी कर्जाको दुरुपयोग रोक्न र वित्तीय स्रोतको सहि सदुपयोग हुने भन्दै २०७९ कात्तिकदेखि चालुपुँजी कर्जा सम्बन्धी मागदर्शन कार्यान्वयनमा ल्याएको थियो ।
निजी क्षेत्रले व्यवसायीका लागि लिएको चालुपुँजी कर्जाको दुरुपयोग गरी सम्पत्ति जोड्ने र ऋणको सावाँ तथा ब्याज तिर्न प्रयोग गर्ने गरेको देखिएको थियो । व्यवसायको लागि लिएको चालुपुँजी कर्जाबाट घरजग्गा र सेयर बजारमा लगानी गर्दा सम्पत्तिको मूल्य बढ्ने, व्यवसायीले सम्पत्तिको मूल्य बढाउँदै जग्गामा लगानी गरेपछि सोही जग्गाको मूल्याकंन बढाउँदै कर्जाको लिमिट थप गर्ने र बैंकको ऋण व्यवसायको आम्दानीबाट भन्दा पनि कर्जा सीमा बढाएर चालुपुँजीको दुरुपयोग गरी गर्ने गरेको अवस्था छ ।
यस्तो अवस्थाले कर्पोरट क्षेत्रमा व्यवसायहरुको ऋण कहिल्यै डिफल्ट पनि नहुने र ऋण पनि नतिर्ने तथा कर्जा ‘एभरग्रिनिङ’ भएको आशंका अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि गर्दै आएको थियो । सोही कर्जाको दुरुपयोग रोक्न भन्दै राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन कार्यन्वयनमा ल्याएको थियो । उक्त मार्गदर्शनले व्यवसायिक फर्मको वार्षिक कारोबारको आधारमा कर्जा दिने, चालुपुँजी कर्जा स्थिर सम्पत्ती, ऋणको सावाँब्याज भुक्तानी जस्ता, कर्मचारीको तलब जस्ता कार्यमा प्रयोग गर्न नपाउने व्यवस्था गर्यो । बैंकहरुले चालुपुँजी कर्जाको सीमा कुनै पनि त्रैमासको अन्तिम महिनामा बढाउन नपाउने व्यवस्था समेत चालुपुँजी कर्जा मार्गर्शनबाट गरेको थियो ।
चालु आर्थिक वर्षको असारमा मात्रै नभएर अघिल्ले त्रैमासमा पनि त्रैमासको अन्तिम महिनामा कर्जा विस्तार बढी भएको देखिन्छ । २०८१ माघमा ५ अर्ब र फागुनमा बैंकहरुले २३ अर्ब कर्जा बढाएकोमा चैतमा ७२ अर्बले कर्जा बढेको छ । अघिल्लो त्रैमासमा पनि त्यस्तै अवस्था छ । पुसमा १ खर्ब ५५ अर्बले कर्जा बढेको छ । कात्तिक र मंसिर २ महिनाको भन्दा पुसको कर्जा विस्तार बढी देखिन्छ । यस्तै साउन र भदौको भन्दा असोजको कर्जा विस्तार अधिक रहेको छ ।
विगत देखि नै त्रैमासको अन्तिम महिना अझै अन्तिम सातामा सबैभन्दा धेरै कर्जा विस्तार हुने गरेको देखिन्छ । यसको कारण नै व्यवसायीले व्याज तिर्न कर्जाको प्रयोग गर्नु हो ।








प्रतिक्रिया