हिमालयन बैंकको सेयर नेसनल लाइफले किन्ने प्रस्ताव हबिबले गर्यो स्वीकार, स्वीकृतिका लागि राष्ट्र बैंकमा

2.6k
Shares

काठमाडौं । हिमालयन बैंकमा रहेको सेयर किन्ने नेसनल लाइफ इन्स्योरेन्सको प्रस्ताव पाकिस्तानी हबिब बैंकले स्वीकार गरेको छ । हबिब बैंकको बोर्डले नेसनल लाइफको सेयर खरिद गर्ने प्रस्ताव स्वीकार गर्दै सेयर खरिद–बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

हबिबले नेसनल लाइफको प्रस्ताव स्वीकृत गरेको जानकारी गराएपछि थप प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकमा पठाइसकेको हिमालयन बैंक स्रोतले क्लिकमान्डुलाई बतायो ।

पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको सेयर बिक्री गर्न निवेदन दिएको थियो । हिमालयन बैंकले हबिबको निवेदन अनुसार प्रतिकित्ता न्युनतम ११२ रुपैयाँ ८० पैसामा एकमुष्ट सेयर बेच्नेगरी प्रस्ताव दिएको थियो । हबिबको निवेदनको आधारमा हिमालयन बैंकले बहालवालो सेयरधनीलाई ३५ दिनको सूचना प्रकाशित गरेको थियो । नेसनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा सबै सेयर खरिद गर्नेगरी प्रस्ताव हालेको थियो ।

हबिबले नेसनल लाइफको उक्त प्रस्ताव स्वीकृत गरेसँगै प्रक्रिया अगाडि बढाउन नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको हिमालयन बैंकले जनाएको छ । उल्लेख्य स्वामित्व भएका सेयरधनीले सेयर बिक्री गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ । यसैगरी खरिदकर्ताको फिट एन्ड प्रपर टेस्ट पनि गर्नुपर्नेछ । सोही अनुसार राष्ट्र बैंकको स्वीकृतिका लागि पठाइएको बैंकले जनाएको छ ।

हबिबले कोभिडअघि नै उक्त सेयर बिक्री गरेर बाहिरिने प्रयास गरे पनि हिमालयन बैंकको बोर्डमा रहेको विवादले गर्दा असफल भएको थियो । पाकिस्तानको हबिब बैंकमा समेत लगानी रहेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसनलाई सेयर बिक्री गरेर हबिब बाहिरिन खोजेको थियो । तर, हिमालयन बैंकमा संस्थापकहरूबीचको विवादले उक्त प्रयास सफल हुन सकेन ।

त्यसपछि २ वर्षअघि हबिबले पुनः सेयर बेच्ने प्रयास सुरु गरेको थियो । तर, राष्ट्र बैंकले प्रक्रिया पुरा नगरी आएको भन्दै त्यसलाई रोकेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र एकीकृत निर्देशनको व्यवस्था अनुसार हिमालयन बैंकबाट नै सेयर कारोबारको लागि प्रक्रिया अगाडि बढाउनुपर्नेमा हबिब र हिमालयन रि–इन्स्योरेन्सबीच सेयर खरिद–बिक्री गर्ने सम्झौता गरी कुनै एउटै कानुनी व्यवसायीले राष्ट्र बैंकमा निवेदन दिएको थियो ।

राष्ट्र बैंकले मर्जरमा गएका २ वर्ष नपुगेको अवस्थामा पूँजीगत लाभकरको झमेला र प्रक्रिया समेत नपुगेको भन्दै त्यतिबेला सेयर कारोबारको स्वीकृति दिएको थिएन । अहिले पनि हिमालयन रि–इन्स्योरेन्सले उक्त सेयर खरिद गर्नका लागि सुरुवातबाट नै चासो देखाए पनि हिमालयन बैंकको बहालवाल संस्थापक सेयरधनी नभएकाले आवेदन दिन पाएन । नेसनल लाइफको भने हिमालयन बैंकमा सानो हिस्सा रहेकाले कम्पनीले आवेदन दिएको थियो ।

हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख कित्ता सेयर छ ।