दुई कार्यकाल उपराष्ट्रपति भएका पुन बने माओवादीका छैटौं नम्बरका नेता

1.4k
Shares

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) नेकपा (माओवादी केन्द्र) को छैटौं वरीयतामा परेका छन् । पार्टी राजनीतिमा पुनः सक्रिय बनेका पुनलाई माओवादीले उपाध्यक्ष मनोनित गरेको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को रुचीमा पुनलाई सक्रिय राजनीतिमा ल्याइएको हो । यद्यपि उपराष्ट्रपतिसम्म पुगेको व्यक्तिलाई पार्टीमा फर्काउनु उचित नहुने धारणा पार्टीभित्रका केही नेताहरूको रहेको बताइएको छ ।

हाल माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ, जसमा उपाध्यक्षको हैसियतमा पुन सहभागी छन् । यही बैठकको बीचमा पार्टीले वेबसाइट अद्यावधिक गर्दै अध्यक्ष प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसालपछि पुनलाई छैटौं स्थानमा राखेको हो।

जनयुद्धकालदेखि प्रचण्डसँग नजिक रहँदै आएका पुनले दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी पूरा गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने घोषणाको चर्को बिरोध भए पनि पुनका विषयमा भने खासै चर्चा सुनिएन ।