नाइमा एक्स्पोमा इलेक्ट्रिक स्कुटर एथर ‘रिज्टा’ सार्वजनिक हुँदै

161
Shares

काठमाडौं । भारतमा अत्यधिक रुचाइएको इलेक्ट्रिक स्कुटर ‘एथर रिज्टा’ अब नेपालमा पनि सार्वजनिक हुँदैछ । एथर एनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले आगामी साउन २१ गते (अगस्ट ६) राजधानी काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा एक्स्पो २०२५ मार्फत स्कुटरको सार्वजनिक घोषणा गर्न लागेको हो ।

‘एथर रिज्टा’ लाई भारतमा स्मार्ट मोबिलिटीको परिभाषा नै फेरिदिने उत्पादनको रूपमा लिइन्छ । यस स्कुटरमा उन्नत प्रविधि, उच्च प्रदर्शन, प्रयोगमा सजिलो डिजाइन र सुरक्षाको उच्च मापदण्ड समेटिएको छ । कम्पनीका अनुसार, यो स्कुटर नेपाली परिवारलाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको हो।

वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्य भन्छन्, ‘रिज्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो जुन हाम्रो अधिकांश जनसंख्याका लागि उपयोगी छ। हामी यस स्कुटरमार्फत नेपालमा दिगो र स्मार्ट यातायात प्रणालीमा नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहन्छौं।’

‘एथर रिज्टा’ विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ। यसमा शक्तिशाली मोटर, लामो दूरी धान्ने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, र थप स्टोरेज जस्ता विशेषताहरू समावेश छन्। यी सबै एथरको प्रमाणित प्लेटफर्ममा आधारित छन्।

नाइमा एक्स्पोमा सहभागीले स्कुटरको प्रत्यक्ष अनुभव लिन सक्ने, विस्तृत जानकारी प्राप्त गर्न सक्ने र बुकिङको सुविधा समेत पाउनेछन्।

एथर रिज्टाको नेपाली बजारमा आगमनले कम्पनीको उपस्थिति थप मजबुत बनाउने र नेपाली उपभोक्तालाई विद्युतीय सवारीतर्फ आकर्षित गर्न सहयोग गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।