मधेश आन्दोलनमा लखेटिएका उद्योगीलाई फिर्ता डाक्दै राजविराज औद्योगिक क्षेत्र


विराटनगर । सप्तरीको रुपनी गाउँपालिकामा २०४४ सालमा सरकारले स्थापना गरेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा उसबेला ठूला र मझौला उद्योग स्थापना हुन सुरु भएसँगै सयौंले रोजगारी पनि पाएका थिए ।

यो औद्योगिक क्षेत्रले त्यसबेला स्थानीय युवालाई रोजगारीका लागि विदेश भौतारिन केही हदसम्म रोक्न सुरु गरेको मात्रै थिएन, आसपासका जिल्लाका उद्योगीलाई उद्योग खोल्न आकर्षित गर्दै थियो ।

भारतले पूर्वाधार तयार पारिदिएर नेपाल सरकारलाई हस्तान्तरण गरेपछि अस्तित्वमा आएको २९४ रोपनी क्षेत्रफलको औद्योगिक क्षेत्रमा सप्तरीको राजविराज र छिमेकी जिल्ला सिराहका उद्योगीमात्र नभएर कोशी पूर्वका विराटनगर, इटहरी, धरान, दुहवी र झापाका उद्योगी पनि त्यहाँ उद्योग खोल्न आकर्षित हुन थालेका थिए ।

कोशी पश्चिम सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र त्यसबेला कोशी अञ्चलमै पर्थ्यो । कोशी अञ्चलमै रहेको कोशी पूर्वको अर्को सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी त्यहाँ लगानी गर्न जुर्मुराएका थिए ।

तर, त्यो र्जुमुराहट र आकर्षणलाई पहिलो मधेश आन्दोलन अनि त्यसपछिको अस्थिर राजनीतिक वातावरणले तुहाइ दियो, साथै औद्योगिक क्षेत्रको भविष्य नै संकटमा पारिदियो । संघीयतापछि सप्तरीको रुपनीको औद्योगिक क्षेत्र मधेश प्रदेश र सुनसरी मोरङ औद्योगिक करिडोर कोशी प्रदेशको अंशमा परेको छ ।

मधेश आन्दोलनताका यहाँ १० वटा साना ठूला उद्योग सञ्चालनमा थिए । मधेश आन्दोलनका आन्दोलनकारीले औद्योगिक क्षेत्रका उद्योगलाई पहिलो टार्गेट गरे । उद्योगमा तोडफोड, आगजनी र लुटपाट मच्चाए । त्यसबेला त्यहाँ उद्योग सञ्चालन गर्नेमध्येका एक उद्योगीले क्लिकमान्डुसँग भने, ‘त्यो आतंकले उसबेलाका प्रायः सबै उद्योगीले उद्योग र भएको सबै जायजेथा नै छाडेर भागेर ज्यान जोगाएका थिए ।’

अहिले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र खण्डहर बनेको छ । त्यहाँ पुनः उद्योग स्थापना गर्न र रुपनीलाई औद्योगिक क्षेत्र बनाउन यसबेला स्थानीय राजनीतिक दल, प्रदेश सरकार र प्रहरी प्रशासन एकमत भएका छन् । त्यसकै मद्दतमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड रुपनीमा उद्योग स्थापना गर्न अन्यत्रका उद्योगीलाई निम्तो दिँदै हिँड्न थालेको छ ।

उद्योग खोल्नका लागि लिमिटेडले औद्योगिक क्षेत्रको जग्गा सुलभ शुल्कमा भाडामा उपलब्ध गराउने, चौबीसै घण्टा विद्युत् उपलब्ध गराउने, आवश्यकता अनुसार पानीको व्यवस्थापन गर्ने र सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने भन्दै कोशी पूर्वका उद्योगीलाई गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग खोल्न निम्तो दिँदै हिँडिरहेको छ ।

यसैबीच गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उक्त औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न इच्छुक उद्योगीहरूका लागि उपलब्ध हुने सेवा, सुविधाका साथै अन्य विषयको जानकारी दिँदै उद्योग संगठन मोरङमा आवद्ध उद्योगीलाई निम्तो दिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्तले गजेन्द्र नारायण औद्योगिक क्षेत्रभित्र मझौला तथा साना उद्योगका लागि ८९.९१ रोपनी जग्गा विकास गरिएको बताए । उनले क्षेत्रभित्र न्यूनतम ५ रोपनीदेखि अधिकतम ८ रोपनीसम्मका प्लटहरू रहेको, कालोपत्रे सडकको व्यवस्था भएको, २४ सै घण्टा विद्युत् आपूर्तिको सुविधा रहेको, उद्योगलाई विद्युत्का लागि छुट्टै सब-स्टेशनको व्यवस्था गरिएको जानकारी गराउँदै उद्योग प्रयोजनका लागि ४० वर्षको लिज सम्झौता गर्न सकिने जानकारी गराए ।

हाल औद्योगिक क्षेत्रमा स्थापना भएका १२ वटा साना उद्योगमध्ये ७ वटा सञ्चालनमा रहेका, दुईवटा निकट भविष्यमा सञ्चालन हुने स्थितिमा रहेका र तीनवटाको पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए ।

औद्योगिक क्षेत्रभित्र उद्योगको मिल मेशिनरी वा स्थिर सम्पत्ति बैंक वा वित्तीय संस्थामा राखी कार्यालयको सिफारिसमा कर्जा लिन सकिने स्पष्ट पार्दै, जमिन भाडा प्रतिरोपनी प्रति वर्ष १३ हजार ८९१ रुपैयाँ ५० पैसा तय गरिएको बताए । मझौला र साना उद्योग स्थापनामा लागि प्रचुर सम्भावना रहेको यो औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि उनले कोशीका उद्योगी व्यवसायीलाई अनुरोध गरे ।

गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख मनिष कुमार मिश्रले जग्गा, भवन भाडामा लिन इच्छुक उद्योगी व्यवसायीहरूले श्रावण २१ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने बताउँदै, उनले उद्योगले कुनै कारणवश क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएमा भाडामा लिएको जग्गामा उद्योग आफैले निर्माण गरेको भवन तथा भौतिक संरचना, मिलमेशिनरी जस्ता सम्पत्तिहरू स्वीकृति लिएर अन्य उद्योगलाई स्वामित्व हस्तान्तरण गरी बेचबिखन गर्न सकिने जानकारी गराए ।

उनले औद्योगिक क्षेत्रको सुरक्षाका लागि औद्योगिक सुरक्षा बलको व्यवस्था गरिएको, उद्योगलाई चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था गरिएको र त्यहाँका उद्योगको जीर्णोद्धारका लागि मधेश प्रदेश सरकारले ८० लाख रुपैयाँको व्यवस्था गरेको बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान समयमा निजी क्षेत्रले उद्योग स्थापना गर्नका लागि आवश्यक पूर्वाधार विकासमा ठूलो रकम खर्च गर्नुपरिरहेकाले अन्य कुराको व्यवस्थापनमा कठिनाई सिर्जना हुँदै आएको बताए । औद्योगिक क्षेत्रको आवश्यकतालाई मध्यनजर गरी संगठनले लामो समयदेखि यस क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारसमक्ष पहल गर्दै आए तापनि यसतर्फ खासै प्रगति नभएको चिन्ता व्यक्त गर्दै राठीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिलाई यस विषयमा पहल गर्न आग्रह गरे ।

उनले देशमा औद्योगिक उत्पादनभन्दा व्यापारमा आधारित अर्थतन्त्रले प्रश्रय पाएको बताउँदै स्पष्ट नीतिगत ढाँचा, सहुलियत र आवश्यक पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना भए लगानीकर्ताहरू आकर्षित हुने धारणा राखे ।

उक्त अन्तरक्रिया कार्यक्रममा मोरङ उद्योग व्यापार संघ, सुन्दरहरैंचा, झुम्का उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च विराटनगरका प्रतिनिधिको सहभागिता थियो ।