
एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र गतिमा बढ्दैछ ।
यस प्रविधि सञ्चालनका लागि ठूलो मात्रामा विद्युत् आवश्यक पर्छ र डाटा सेन्टरहरूलाई चिसो राख्न निरन्तर पानीको प्रयोग गरिन्छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वको आधा जनसंख्या पहिले नै पानीको अभावको सामना गरिरहेको छ ।
जलवायु परिवर्तन र पानीको बढ्दो मागका कारण आगामी दिनहरूमा यो संकट अझै गम्भीर हुन सक्छ ।
यस्तोमा, के एआईको तीव्र विस्तारले पानीको अभावलाई अझै बढाउँछ ?
एआई कति पानी प्रयोग गर्छ ?
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सैम अल्टम्यानका अनुसार, च्याटजीपीटीमा गरिएको एउटा प्रश्नको उत्तर दिन झण्डै एक चम्चाको पन्ध्रौं भागजति पानी लाग्छ ।
तर अमेरिकास्थित क्यालिफोर्निया र टेक्सासमा गरिएको एक अध्ययनले भने ओपनएआईको जीपीटी-३ मोडेलबाट १० देखि ५० वटा प्रश्नको उत्तर दिन झण्डै आधा लिटर पानी खर्च हुने देखाएको छ । अर्थात्, प्रत्येक उत्तरका लागि लगभग २ देखि १० चम्चा पानी खपत हुन्छ ।
पानीको प्रयोगको अनुमान विभिन्न कुराहरूमा भर पर्छ, जस्तै कस्तो प्रकारको प्रश्न हो, उत्तर कति लामो छ, उत्तर कहाँ प्रोसेस भइरहेको छ र गणनामा के-के कुरा समावेश गरिएको छ ।
उक्त अमेरिकी अध्ययनले ५०० मिलिलिटरको अनुमानमा त्यो पानी पनि समावेश गरेको छ जुन बिजुली उत्पादनमा प्रयोग हुन्छ । जस्तै कोइला, ग्यास वा आणविक ऊर्जा केन्द्रमा टर्बाइन चलाउन भाप उत्पादन गर्न ।
सैम अल्टम्यानले भनेको अनुमानमा सम्भवतः यी कुरा समावेश गरिएका छैनन् । बीबीसीले ओपनएआईसँग यसको बारेमा सोध्दा, कम्पनीले आफ्नो गणनाको तरिका खुलाएको छैन ।
ओपनएआईका अनुसार च्याटजीपीटीले हरेक दिन एक अर्ब प्रश्नहरूको उत्तर दिन्छ र च्याटजीपीटी मात्र एआई होइन । यस्ता कयौं एआई छन् ।
उक्त अमेरिकी अध्ययनको अनुमान छ- सन् २०२७ सम्ममा एआई उद्योगले हरेक वर्ष डेनमार्क देशको तुलनामा चारदेखि छ गुणा बढी पानी प्रयोग गर्नेछ ।
यस अध्ययनका एक लेखक, क्यालिफोर्निया युनिभर्सिटी रिभरसाइडका प्रोफेसर शाओलेई रेन भन्छन्, ‘जति धेरै हामी एआई प्रयोग गर्छौं, उति नै धेरै पानी खर्च हुन्छ ।’

एआईले पानी कसरी प्रयोग गर्छ ?
हामीले जे-जति अनलाइन काम गर्छौं- जस्तै इमेल पठाउनु, भिडियो हेर्नु, वा डिपफेक तयार पार्नु, यी सबै काम विशाल डाटा सेन्टरहरूमा भएका हजारौं कम्प्युटर सर्भरले प्रोसेस गर्छन् । तीमध्ये केही डाटा सेन्टरहरू धेरैवटा फुटबल मैदान बराबरका हुन्छन् ।
यी सर्भरहरूमा लगातार विद्युत् प्रवाह हुँदा अत्यधिक ताप उत्पन्न हुन्छ । तिनलाई चिसो राख्न पानी, प्रायः सफा ताजा पानी, आवश्यक पर्छ । चिस्याउने तरिका फरक-फरक हुन सक्छ, तर केही प्रणालीमा प्रयोग गरिएको पानीको झण्डै ८० प्रतिशत भाग वाष्प बनेर हावामा बिलिन हुन्छ ।
एआई सम्बन्धी काम-जस्तै तस्बिर बनाउने, भिडियो बनाउने वा जटिल सामग्री तयार पार्ने- सामान्य अनलाइन काम (जस्तै अनलाइन किनमेल वा सर्च) भन्दा धेरै कम्प्युटिङ शक्ति माग गर्छन् । यसले गर्दा बिजुलीको खपत पनि धेरै हुन्छ ।
कति फरक पर्छ भन्ने स्पष्ट तथ्यांक निकाल्न गाह्रो छ । तर इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए) का अनुसार, च्याटजीपीटीमा गरिएको एक प्रश्न गूगल सर्चको तुलनामा लगभग १० गुणा बढी बिजुली खर्च गर्छ ।
बिजुली बढी खपत हुँदा गर्मी पनि बढी उत्पन्न हुन्छ, जसले गर्दा चिस्याउन अझ धेरै पानी आवश्यक हुन्छ ।

एआईको लागि पानी प्रयोग कति बढ्दैछ ?
ठूल्ठूला एआई प्रविधि कम्पनीहरूले आफ्नो एआई सम्बन्धी गतिविधिमा कति पानी प्रयोग हुन्छ भन्ने तथ्यांक सार्वजनिक गर्दैनन् । तर उनीहरूको कुल पानी खपतको आँकडा भने हरेक वर्ष बढ्दो क्रममा छ ।
गूगल, मेटा र माइक्रोसफ्ट-यी तीन कम्पनीहरू ओपनएआईका ठूला लगानीकर्ता र सेयरहोल्डर हुन् । ती सबैको वातावरणीय प्रतिवेदन अनुसार सन् २०२० पछिबाट पानी प्रयोगमा तीव्र वृद्धी भएको छ । सो अवधिमा गूगलको पानी प्रयोग लगभग दोब्बर भएको छ । अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) ले भने कुनै तथ्यांक दिएको छैन ।
जसरी एआईको माग बढ्दैछ, आईईएले अनुमान गरेको छ कि सन् २०३० सम्म डाटा सेन्टरहरूको पानी प्रयोग लगभग दोब्बर हुनेछ । योमा बिजुली उत्पादन र कम्प्युटर चिप बनाउने प्रक्रियामा प्रयोग हुने पानी पनि समावेश छ ।
गूगलका अनुसार, उसका डाटा सेन्टरहरूले सन् २०२४ मा पानीका स्रोतहरूबाट ३७ अर्ब लिटर पानी लिएको थियो, जसमध्ये २९ अर्ब लिटर पानी ‘खपत’ भयो- अर्थात् अधिकांस भाग वाष्प बनेर गयो ।
के यो धेरै हो ?
यो तपाईँले कससँग तुलना गर्नुहुन्छ भन्नेमा भर पर्छ । संयुक्त राष्ट्रसंघका अनुसार, यति पानीले १६ लाख मानिसहरूको एक वर्षको लागि दैनिक ५० लिटर पानीको आवश्यकता पूरा गर्न सकिन्छ । वा गूगलका अनुसार, यति पानी अमेरिका दक्षिण-पश्चिमका ५१ वटा गोल्फ कोर्स सिँच्न एक वर्षको लागि पर्याप्त हुन्छ ।
सुक्खा भएका ठाउँहरूमा डाटा सेन्टर किन बनाइन्छ ?
विगत केही वर्षमा संसारका धेरै सुक्खा क्षेत्रहरू- जस्तै युरोप, ल्याटिन अमेरिका र अमेरिकाको एरिजोना राज्यमा डाटा सेन्टरको विरोध चर्चामा आएको छ ।
स्पेनमा ‘योर क्लाउड इज ड्राइङ अप माई रिभर’ (तपाईंको क्लाउडले मेरो नदी सुकाइरहेको छ) भन्ने वातावरणीय समूह गठन गरिएको छ, जसले डाटा सेन्टरको विस्तारको विरोध गर्छ ।
चिली र उरुग्वे अहिले गम्भीर सुक्खा परेको छ । त्यहाँ पानीको प्रयोग सम्बन्धी विरोधपछि गूगलले आफ्ना केही योजना रोक्नु वा परिमार्जन गर्नु परेको छ ।
एनटीटी डाटाका संसारभर १५० भन्दा बढी डाटा सेन्टर छन् । कम्पनीका सीईओ अभिजीत दुबेका अनुसार, ‘तातो र सुक्खा ठाउँहरूमा डाटा सेन्टर बनाउनको लागि चासो बढ्दो छ ।’
उनका अनुसार जमीनको उपलब्धता, विद्युत् पूर्वाधार, सौर्य र वायु ऊर्जा जस्ता नवीकरणीय स्रोत र सरल नियम, यस्ता क्षेत्रहरूलाई कम्पनीहरूका लागि आकर्षक बनाउँछन् ।
विशेषज्ञहरू भन्छन्, जहाँ बढी आर्द्रता हुन्छ त्यहाँ खिया लाग्ने समस्या बढ्छ र भवन चिस्याउन बढी ऊर्जा चाहिन्छ । त्यसैले सुक्खा ठाउँहरू डाटा सेन्टरको लागि उपयुक्त मानिन्छ ।
गूगल, माइक्रोसफ्ट र मेटाले आफ्नो पछिल्लो प्रतिवेदनहरूमा आफूहरूले सुक्खा क्षेत्रहरूबाट पानी लिइरहेको स्वीकारेका छन्।
गूगलका अनुसार, उसले लिएको कुल पानीको १४ प्रतिशत ती क्षेत्रबाट आएको छ, जहाँ पानीको ‘उच्च’ संकट छ र अर्को १४ प्रतिशत ‘मध्यम’ संकट भएका क्षेत्रहरूबाट ।
माइक्रोसफ्टका अनुसार, उसको ४६ प्रतिशत पानी त्यस्ता स्थानहरूबाट आउँछ, जहाँ ‘पानीको चाप’ छ ।
मेटाका अनुसार, उसको २६ प्रतिशत पानी त्यस्ता क्षेत्रहरूबाट आउँछ, जहाँ पानीको ‘धेरै’ वा ‘अत्यधिक’ संकट छ । एडब्ल्यूएसले यसबारे कुनै तथ्यांक दिएको छैन ।
के चिस्याउने अन्य विकल्प छन् ?
प्रोफेसर रेनका अनुसार, ड्राई कूलिङ वा एयर कूलिङ प्रणाली प्रयोग गर्न सकिन्छ तर ती प्रणालीमा पानीको साटो बढी बिजुली लाग्छ ।
माइक्रोसफ्ट, मेटा र अमेजनका अनुसार उनीहरूले ‘क्लोज्ड लुप’ प्रणाली विकास गरिरहेका छन्, जसमा पानी वा अन्य तरल पदार्थ सिष्टमभित्र नै पुनः प्रयोग गरिन्छ जसलाई बारम्बार फेर्नु वा वाष्पित गर्नु पर्दैन ।
अभिजीत दुबेका अनुसार, भविष्यमा सुक्खा क्षेत्रहरूमा यस्ता प्रणालीको आवश्यकता बढ्नेछ । तर अहिले उद्योग यी प्रविधिहरूको ‘सुरुआती चरणमा’ मात्र छ ।
यस्ता योजनाहरू पनि छन् वा बनाइँदैछन् जसमा डाटा सेन्टरबाट निस्कने गर्मीलाई वरपरका घरहरूमा प्रयोग गरिन्छ । जर्मनी, फिनल्याण्ड र डेनमार्कमा यस्तो काम भइरहेको छ ।
विशेषज्ञहरू कम्पनीहरू प्रायः सफा र ताजा पानी प्रयोग गर्न रुचाउँने बताउँछन् । जस्तो पिउन योग्य पानी किनकि त्यसमा ब्याक्टेरिया र खिया लाग्ने जोखिम कम हुन्छ।
तर केही कम्पनीहरूले अब समुद्री पानी वा कारखानाबाट निस्कने अपेय योग्य पानी प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।
वातावरणीय असरको तुलनामा के एआईका फाइदा पर्याप्त छन् ?
एआईलाई पहिले नै वातावरणीय दबाव कम गर्न प्रयोग गरिँदैछ- जस्तै घातक हरितगृह ग्यास मिथेनको चुहावट पत्ता लगाउन वा ट्राफिकलाई यस्तो मार्गमा मोड्न जसले इन्धनको खपत घटाउँछ ।
युनिसेफका इनोभेसन अफिसका ग्लोबल डाइरेक्टर थोमस डेभिन भन्छन्, ‘एआईले विश्वभरका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, र सम्भवतः जलवायु परिवर्तनजस्ता क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ ।’
तर उनी भन्छन्, ‘कुन कम्पनी सबैभन्दा प्रभावकारी र पारदर्शी ढंगले काम गर्छ भन्ने कुरामा प्रतिस्पर्धा होस् भन्ने म चाहन्छु-न कि यो होडमा कि सबैभन्दा शक्तिशाली र एडभान्स मोडेल को बनाउँछ ।’
उनी चाहन्छन् कि कम्पनीहरूले आफ्ना मोडेल ओपन सोर्स गरून्, अर्थात् सबैका लागि उपलब्ध गरून् जसबाट अरूले प्रयोग गर्न सकून् र आफ्नो आवश्यकता अनुसार परिमार्जन गर्न सकून् ।
थोमस डेभिनका अनुसार, यदि कम्पनीहरूले आफ्ना मोडेल सबैका लागि खुला गरिदिए, तेस्रो पक्षलाई ठूला मोडेल ट्रेन्ड गर्न आवश्यक नपर्ला जसले पानी र बिजुली बचत गर्न सकिन्छ ।
तर स्वतन्त्र अनुसन्धानकर्ता लोरेना जौमे-पलासी, जो युरोपेली संघ र संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरूलाई परामर्श दिन्छिन्, भन्छिन्, ‘एआईको जसरी तीव्र विस्तार भइरहेको छ, त्यो वातावरणीय हिसाबले दीर्घकालीन रूपमा दिगो बनाउने कुरा असम्भवजस्तै देखिन्छ ।’
‘हामी यसलाई केही हदसम्म कारगर बनाउन सक्छौं, तर जति धेरै हामी यसलाई सुधार्छौं, उति नै यसको प्रयोग बढ्छ,’ उनी भन्छिन्, ‘हामीसँग यति धेरै कच्चा सामग्री छैनन् कि यस्तो होड जहाँ ठूलो र छिटो एआई बनाउने प्रतिस्पर्धा भइरहेको छ लामो समयसम्म टिक्न सकोस् ।’
प्रविधि कम्पनीहरू के भन्छन् ?
गूगल, माइक्रोसफ्ट, एडब्ल्यूएस र मेटाका अनुसार, तिनीहरू हरेक स्थानको स्थानीय परिस्थिति हेरेर चिस्याउने प्रविधि अपनाउँछन् ।
यी सबै कम्पनीहरूले २०३० सम्म “वाटर पोजिटिभ” बन्ने लक्ष्य लिएका छन् । यसको अर्थ हो, तिनीहरूले जति पानी प्रयोग गर्छन्, त्यसभन्दा बढी पानी पुनः वातावरणमा फर्काउने प्रयास गर्नेछन् ।
यसका लागि तिनीहरूले आफ्ना डाटा सेन्टर रहेका स्थानहरूमा पानी बचाउने वा पुनः भर्ने परियोजनाहरू चलाइरहेका छन् । जस्तै जङ्गल वा आद्रभूमि पुनः निर्माण, पाइपलाइन लिकेज पत्ता लगाउने, वा उन्नत सिँचाइ प्रविधिको प्रयोग ।
एडब्ल्यूएसका अनुसार, उसले आफ्नो लक्ष्यको ४१ प्रतिशत पूरा गरिसकेको छ । माइक्रोसफ्टका अनुसार, उनीहरू “सही दिशामा” अगाडि बढिरहेका छन् । गूगल र मेटाले सार्वजनिक गरेका आँकडाले पनि पानी पुनः पूर्तिमा प्रगति देखाउँछन् ।
तर युनिसेफका थोमस डेभिन भन्छन्, ‘यो लक्ष्य पुरा गर्न अझै लामो यात्रा बाँकी छ ।’
ओपनएआईका अनुसार, ऊ पानी र ऊर्जा बचतका लागि ‘गम्भीर मेहनत’ गरिरहेको छ र ‘कम्प्युटिङ शक्ति सोच-विचार गरेर प्रयोग गर्नु अत्यावश्यक’ भन्छ ।
तर प्रोफेसर रेन कम्पनीहरूको पानी प्रयोग सम्बन्धी रिपोर्टिङ अझ पारदर्शी र एकरूप हुनु जरुरी रहेको बताउँछन् । ‘यदि हामी मापन गर्न सक्दैनौं भने, नियन्त्रण पनि गर्न सक्दैनौं,’ उनी भन्छन् ।
(बीबीसी हिन्दीबाट अनुवाद गरिएको ।)










प्रतिक्रिया