
काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताइन् ।
‘बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको धेरै भएको छैन । कतिपय बैंकहरुमा समस्या भएका कारण अरुमा मर्ज गरिएको धेरै भएको छैन,’ उनले भनिन्, ‘२ वर्षअघि १५–१८ को हाराहारीमा बैंकहरु हुनुपर्छ भनेर राष्ट्र बैंकले नै रिपोर्ट निकालेका थियौं । अब होइन फेरि नयाँ खुलाउनुपर्छ भन्दै धमाधम नयाँ ल्याउन दिने कुरा हुँदैन ।’ अध्ययन नगरी, कुनै आधार नभई कुनैपनि कुरामा ह्वात्तै अघि बढ्न नसक्ने उनले बताइन् । डिजिटल बैंकको सन्दर्भमा छुट्टै प्रकृतिको आवश्यक हो भने अध्ययन गरेर संस्थाहरु खुलाउनुपर्ने उनले बताइनन् ।
राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तरण प्रयासरत रहेको बताइन् । बैंंक तथा वित्तीय संस्थाहरुको वर्तमान स्थिति र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको उनले बताइन् ।
बैंकिङ प्रणालीमा भएको विस्तार र आधुनिकीकरण, वित्तीय पहुँचमा भएको विस्तार, भुक्तानी प्रणालीमा भएको आधुनिकीकरण, वित्तीय सेवाको विविधिकरण र गुणस्तरमा सुधार र स्वतन्त्र पुँजी वृद्धिको प्रभावकारी कार्यान्वयनमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्दै आउनु उपलव्धिका विषयहरु रहेको उनले बताइन् ।
कोभिड र त्यसपश्चात विश्व अर्थतन्त्रमा देखा परेका विभिन्न असरहरुका कारण केही वर्षयता अर्थतन्त्रले अपेक्षित गती लिन नसकेको उनले बताइन् । अर्थतन्त्रका सूचकहरु गत वर्ष संकुचनमा रहेपनि अहिले भने विस्तारै सुधारोन्मुख रहेको डेपुटी गभर्नर ढुंगानाले बताइन् ।










प्रतिक्रिया