सेयरमा चलखेल गर्न ८० करोडको चेक कोल्याट्रलमा प्रयोग, बाउन्स भएपछि झस्कियो सेबोन !

मूल्य उचाल्न ३ अर्ब २० करोड रूपैयाँसम्मको कोल्याट्रल देखाउने ८० करोडको चेक बाउन्स भएपछि खैलाबैला, अब जति कोल्याट्रल चाहिन्छ त्यति नै रकम ब्रोकरको खातामा पठाउनुपर्ने अनिवार्य व्यवस्था गरिँदै

64.7k
Shares

काठमाडौं । सेयर खरिद आदेश प्रविष्ट गर्नुभन्दा अगाडि सेयर ब्रोकरको खातामा पैसा नै जम्मा गर्नुपर्ने व्यवस्था गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले सेयर खरिद गर्दा अनुमानित कारोबार रकम पहिल्यै ब्रोकरको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको हो ।

हालसम्म चेक काटेर वा टेलिफोन गरेर कोल्याट्रल (सेयर बिक्रीको लिमिट) बढाइदिने गरिएको थियो । अर्थात्, अब भने ब्रोकरको खातामा पैसा आएपछि मात्र सेयर किन्नलाई ‘कोल्याट्रल’ दिइने भएको हो ।

यसैगरी अहिले २५ प्रतिशत रकम जम्मा गरेर अर्थात् ब्रोकरको खातामा जम्मा गरेको वा चेक काटेर दिएको रकमको ४ गुणासम्म सेयर खरिदको आदेश दिन पाइन्छ । यो सुविधा पनि हट्ने भएको छ । अर्थात् जति रकम कोल्याट्रलमा देखाइएको छ, त्यतिको मात्र सेयर किन्न पाइने भएको छ ।

चेक काटेर कोल्याट्रल बढाउने र मूल्यमा मनपरी चलखेल गर्ने क्रम बढेपछि नेपाल धितोपत्र बोर्डले यस्तो व्यवस्था गर्न लागेको हो । धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गरेर यस्ता चलखेललाई नियन्त्रण गर्न खोजिएको हो ।

खासगरी अर्थमन्त्रालयको कडा निर्देशन पछि बोर्डले उक्त व्यवस्था गर्न लागेको हो । अर्थमन्त्रालयले सेयर कारोबारमा सतप्रतिशत धितो ‘कोल्याट्रल’ राख्नुपर्ने व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । ९ असारमा अर्थमन्त्रालयले बोर्डलाई पत्राचार गर्दै सेयर कारोबार गर्दा शतप्रतिशत कोल्याट्रल राख्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । मन्त्रालयले ब्रोकरको खातामै पैसा आएपछि मात्र कोल्याट्रलमा रकम देखाउने व्यवस्था गर्न बोर्डलाई मौखिक रूपमा भनेको छ।

आम लगानीकर्तालालाई झुक्याउने गरी पहुँच भएका लगानीकर्ता र सेयर ब्रोकरको मिलेमतोमा अनावश्यक खरिद अर्डर देखाएर सेयर मूल्य बढाउने र मूल्य बढेपछि आम लगानीकर्तालाई उक्त कम्पनीको सेयर बिक्री गरी बाहिरने विकृत्ति मौलाएपछि अर्थमन्त्रालयको निर्देशनमै बोर्डले यी नयाँ तथा कडा व्यवस्था गर्न लागेको हो ।

‘सेयर ब्रोकरसँग मिलेर केही लगानीकर्ताले बैंक खातामा ब्यालेन्स नै नभएको चेकको आधारमा ठुलो कारोबार सीमा लिने र सोही कारोबार सीमालाई प्रयोग गर्दै सेयर सप्लाई कम भएको कम्पनीमा कृत्रिम माग देखाउने गरेको पाइयो,’ बोर्ड स्रोतले भन्यो, ‘मन्त्रालयको समेत निर्देशन आएपछि २५ प्रतिशत कोल्याट्रल नभई अब सेयर कारोबारअघि नै सबै रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न लागेका छौं । साथै ब्रोकरको खातामा पैसा आएपछि मात्र कोल्याट्रलमा रकम देखाउन व्यवस्था गर्न मन्त्रालयको निर्देशन छ ।’

अर्थमन्त्रालय स्रोतका अनुसार आम लगानीकर्ताहरु पहुँच भएका लगानीकर्ता र ब्रोकरको मिलेमतोमा कृत्रिम माग देखाएको कम्पनीको लगानी गर्ने र फस्ने अवस्था देखियो । ‘सेयर मूल्य पम्प गर्ने र मूल्य माथि पुगेपछि कृत्रिम माग देखाउँदै ती लगानीकर्ताले आफ्नो सेयर बेचेर बाहिरिने अवस्था देखियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘यस्तोमा अब पुरै रकम कोल्याट्रल राखेपछि मात्रै कारोबार गर्ने व्यवस्था गर्न निर्देशन दिएका छौं ।’

सेयर कारोबारका लागि पहुँचवालालाई ब्रोकरले फ्रि कोल्याट्रल दिने र सेयर कारोबार भएपछि बजार र सेयरमूल्य घटेर ‘एक्जिट’ हुन नपाएमा ब्रोकरले पैसा नै उठाउन नसक्दा सेयर बिक्री गर्नलाई भुक्तानीमा समस्या भएको भन्दै पटक–पटक प्रश्न उठ्दै आएको छ ।

सेयर ब्रोकरसँग पहुँच भएकाहरुलाई अनलिमिटेड र खातामा पैसा नै नआइकन कोल्याट्रल दिँदा त्यसैबाट सेयरको मूल्यमा कर्नरिङ मात्रै भएको छैन, ब्रोकरले सेयर किनेको पैसा नपाएको भन्दै केही लगानीकर्ताविरुद्ध नेपाल धितोपत्र बोर्डमा उजुरीसमेत पर्ने क्रम बढेको छ । केही लगानीकर्ताले खातामा पैसा नै नभएको चेक धरौटीका रुपमा छोड्ने र सोही चेकको आधारमा सेयर ब्रोकरले मागे जति कोल्याट्रल लगानीकर्तालाई दिने गरेको पाइएको धितोपत्र बोर्ड स्रोतले बतायो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ ले खरिद आदेश प्राप्त गर्दा नै अनुमानित कारोबार रकमको २५ प्रतिशत रकम अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । यदी कुनै लगानीकर्ताले १ करोड रुपैयाँको सेयर खरिद गर्दैछ भने उसले २५ प्रतिशत रकम अनिवार्यरुपमा अग्रिम भुक्तानी गरेको हुुनपर्छ । अनलाइन कारोबार प्रणालीमा पनि लगानीकर्ताले जम्मा गरेको रकमको ४ गुणा बढी हुनेगरी मात्रै कारोबार सीमा दिनुपर्ने हुन्छ । तर, पहुँचका आधारमा ब्रोकहरुले चेक धरौटी राखेर अनिश्चित रकमसम्मको कारोबार सीमा दिने गरेको पाइएको धितोपत्र बोर्ड स्रोतले क्लिकमान्डुलाई जानकारी दियो ।

‘कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिमरूपमा लिनु पर्नेछ,’ धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा भनिएको छ ।

तर, पहुँच भएका केही लगानीकर्ताले भने बैंक खातामा रकम नै नभएको चेक धरौटीको रुपमा छोड्ने र सोही आधारमा मागेजति कारोबार सीमा दिने गरेको देखिएको हो । अनुगमनका क्रममा एउटा सेयर ब्रोकरमा एक लगानीकर्ताको ८० करोड रुपैयाँको चेक दिएको फेला परेको छ । सेयर ब्रोकरले उक्त चेकको आधारमा त्यसको ४ गुणासम्म (३ अर्ब २० करोड रूपैयाँ) कारोबार सीमा दिँदा त्यसले रकम नभए पनि जतिको पनि खरिद अर्डर हाल्ने र बजार प्रभावित पार्ने गरेको देखिएको बोर्डका अधिकारीहरु बताउँछन् ।

अनुगमनका क्रममा भेटिएको उक्त चेक बोर्डले खातामा रकम नभएको शंका लागेपछि थप विवरणा माग गर्दै नेपाल राष्ट्र बैंकमा पत्राचार समेत गरेको थियो । सो लगानीकर्ताले चेक काटेका बेला उक्त खातामा जम्मा १/२ करोड रुपैयाँ मात्रै थियो । यो एउटा प्रतिनिधि उदाहारण मात्रै भएपनि यस्ता धेरै केसहरु पाइएको बोर्ड स्रोतले जनाएको छ । उक्त प्रमाण फेला पारेपछि पछिल्लो समय कारोबार समयमा आउने गरेको अस्वभाविक खरिद अर्डरमाथि पनि निगरानी बढाएको बोर्ड उच्च स्रोतले क्लिकमान्डुलाई बतायो ।

बोर्डले अब चेक धेरौटीको आधारमा सेयर ब्रोकरले कारोबार सीमा बढाइदिने र त्यसैका आधारमा पहुँचवाला लगानीकर्ताले सेयर बजारमा अस्वभाविक प्रभाव देखाउने विषय अन्त्य गर्न शतप्रतिशत नै कोल्याट्रल बनाउने, ब्रोकरको खातामा पैसा प्राप्त भएकै हुनुपर्ने तथा कडाइका लागि अन्य के कस्ता व्यवस्था गर्न सकिन्छ भनेर काम गरिरहेको बोर्ड स्रोतले बतायो ।