
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ताबारे पार्टी केन्द्रीय कमिटीलाई जानकारी गराएका छन्।
सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले आइतबार भण्डारीसँग भएको भेटबारे विस्तृत जानकारी दिएका हुन् । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले उक्त भेटमा राष्ट्रिय राजनीति, पार्टीमाथि भइरहेका प्रहार, सरकारले गरेका काम तथा आगामी विधान अधिवेशनका सन्दर्भमा खुलेर कुराकानी भएको बताएका छन् ।
ओलीले राष्ट्रपतिपछिको भूमिकाबारे पनि स्पष्ट धारणा राखेको उनले बताए। ‘राष्ट्रपति भइसकेपछि राजनीतिमा फर्कनुहुन्छ कि हुँदैन भन्ने विषयमा मैले आफ्नो अभ्यासको आधारमा स्पष्ट दृष्टिकोण राखेको छु,’ ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने ।
पार्टी सदस्यतासम्बन्धी विषयमा कुनै विवाद नभएको र आवश्यक निर्णय केन्द्रीय कमिटीले नै गर्ने जानकारी पनि ओलीले बैठकमा गराएका थिए ।
भेट च्यासलस्थित पार्टी कार्यालयमै हुनुको कारणबारे ओलीले भने, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफु १० वर्षभन्दा बढी समय पार्टी कार्यालय जान नसकेको बताउँदै त्यहीँ भेट गर्न आग्रह गर्नुभएको थियो । त्यसैले कार्यालयमै भेट भएको हो।’
ओलीले पछिल्लो समय पार्टीमाथि बारम्बार प्रहार भइरहेको भन्दै त्यसबाट पार्टीलाई जोगाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर लाग्न निर्देशन दिए ।
गौतमका अनुसार, ओलीले पार्टी विभाजन र तोडफोड गर्न चाहने शक्तिहरु सक्रिय रहेको उल्लेख गर्दै यस्ता गतिविधिबाट पार्टीलाई सुरक्षित राख्न सशक्त एकता आवश्यक रहेको बताएका थिए ।
गौतमका अनुसार ओलीले ७० वर्ष उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सीमा सम्बन्धमा पनि सचिवालय र पोलिटब्युरो बैठकमा सर्वसम्मति भएको स्पष्ट पारे ।
‘७० वर्षको उमेर हद, कार्यकारी पदमा दुईपटकभन्दा बढी नबस्ने निर्णय सचिवालय र पोलिटब्युरो दुवैबाट सर्वसम्मत रूपमा गरिएको हो। पार्टी एक ढिक्का भएर अगाडि बढिरहेको छ। विभाजन र विघटनको प्रयास गर्ने तत्वहरूबाट पार्टीलाई जोगाउन सबै एक भएर लाग्नुपर्छ,’ बैठकमा ओलीले भने ।








प्रतिक्रिया