
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारेकी छन् ।
आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग च्यासलस्थित एमाले मुख्यालयमा भेटवार्ता गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो सदस्यता पहिल्यै नवीकरण भइसकेको जानकारी दिइन् ।
प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा राष्ट्रिय राजनीति सम्बन्धी विषयमा मात्रै कुराकानी भएको उनको भनाइ छ ।
‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले सदस्यता पहिल्यै नवीकरण गरेको छु । बाँकी प्रक्रिया आधिकारिक च्यानलबाट अघि बढ्छ ।’
ओली र भण्डारीबीच करिब दुई घण्टा लामो छलफल भएको एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार, छलफल समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रित रहेको बुझिएको छ । यद्यपि, विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
भेटवार्ता सकिएपछि दुवै जना पार्टी कार्यालयबाट बाहिरिएका थिए ।








प्रतिक्रिया