थाइल्यान्डले पनि गोल्डन भिसा जारी गर्न सक्ने, संसारभरिका धनाढ्यहरूलाई खुल्यो अवसर

546
Shares

एजेन्सी । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राले ६ लाख विदेशी धनाढ्यहरूलाई लक्षित गरी नयाँ गोल्डन भिसा कार्यक्रमको प्रस्ताव गरेका छन् ।

ती धनाढ्यहरूलाई जम्मा १० लाख डलर तिरेर दीर्घकालीन आवासीय र सम्पत्ति अधिकारको सुविधा दिइनेछ । यस कार्यक्रमले अर्थतन्त्रमा पर्याप्त पुँजी प्रवाह गर्ने र शिक्षा लगायतका सार्वजनिक सेवालाई सहयोग पुग्ने शिनावात्राको भनाइ छ ।

यस कार्यक्रममार्फत ६०० अर्ब डलर उठ्न सक्ने सम्भावना रहेको थाक्सिनको भनाइलाई ब्लूमबर्ग सञ्चारमाध्यमले समाचार दिएको छ । त्यो भनेको थाइल्यान्डको अहिलेको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी रकम हो र थाइल्यान्डलाई वित्तीय पुनर्जागरणको अवसर दिनेछ ।

बैंककमा आयोजित अनलकिङ थाइल्यान्ड्स फ्युचर नामक सम्मेलनमा थाइल्यान्डले गोल्डन भिसाका कारण जीडीपीमा वृद्धि हुने, सार्वजनिक ऋणमा कमी आउने र मुलुकभित्र उपभोगको मात्रा बढ्ने थाक्सिनले बताए । यो नयाँ ताजा पैसा भएकाले यसलाई पछ्याउनुपर्ने उनको भनाइ छ ।

गोल्डन भिसाले योग्य विदेशीहरूलाई लामो समयसम्म थाइल्यान्डमा बसोवास गर्न र सम्पत्ति खरिद गर्न अनुमति दिन्छ । त्यसबाड रियल इस्टेट क्षेत्र उकासिन्छ । यसबाट आएको पैसालाई थाइ नागरिकको शिक्षामा सुधारका लागि उपयोग गर्न सकिने थाक्सिनको भनाइ छ ।

अहिले थाइल्यान्डको अर्थतन्त्रमा सुस्त वृद्धि भइरहेको छ । विगत एक दशकमा त्यो औसतमा २ प्रतिशतले मात्र बढेको छ । सन् २०२५ मा थाइल्यान्डको अर्थतन्त्र १.३ देखि २.३ प्रतिशतसम्म मात्र रहने प्रक्षेपण गरिएको छ । पर्यटकहरू कम आएकाले समस्या परिरहेको देखिन्छ । अमेरिकाले थाइल्यान्डको निर्यातमा ३६ प्रतिशत आयातकर लगाउने सम्भावना छ ।

सन् २०२५ मा ३ करोड ५० लाखदेखि लिएर ४ करोडसम्म पर्यटक आउन सक्ने थाइल्यान्डको पर्यटन प्राधिकरणले पूर्वानुमान गरेको छ । त्यो अघिल्ला वर्षको तुलनामा कम संख्या हो ।

थाक्सिनकी छोरी पेतोङतार्न शिनावात्रा बहालवाला प्रधानमन्त्री हुन् ।