
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको विधान संशोधन मस्यौदामाथि गम्भीर बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेका छन् शुक्रबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदालाई थप परिमार्जन गर्न सुझाव र बहस आवश्यक रहेको बताएका हुन् ।
उनको यो भनाइ महासचिव शंकर पोखरेलको भनाइप्रति प्रतिक्रिया स्वरूप आएको देखिएको छ । शुक्रबार बिहानै महासचिव पोखरेलले पार्टीमा नीति, विधि र नेतृत्वबारे टुंगो लागिसकेको दाबी गरेका थिए । उनले ‘विधि निर्माणको अन्योल अन्त्य भएको’ उल्लेख गर्दै बहसको आवश्यकता नरहेको संकेत गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ । पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ ।’
शुक्रबार दिउँसो १ बजे एमालेको पोलिटब्युरो बैठक बस्दैछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधान संशोधन सम्बन्धी केही महत्वपूर्ण प्रस्तावमा सहमति जनाएको छ । ती प्रस्तावहरूमा ७० वर्षे उमेरहद हटाउने, कार्यकालको सीमा नराख्ने, पदाधिकारी संख्या १५ कायम गर्ने र केन्द्रीय कमिटीलाई २५१ सदस्यीय बनाउने विषय प्रमुख छन् ।
स्रोतका अनुसार यी प्रस्तावलाई शुक्रबारको पोलिटब्युरो बैठकमा टुंगो लगाएर केन्द्रीय कमिटीमा पेश गरिनेछ । आगामी विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन मस्यौदा पारित गर्ने तयारी एमालेको नेतृत्वले गरिरहेको छ ।








प्रतिक्रिया