ट्रम्पलाई लाग्यो नसा सम्बन्धी रोग, बाँकी कार्यकाल चलाउन सक्लान् ?

2.9k
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई क्रोनिक भिनस इन्सफिसिएन्सी नामक रोग लागेको ह्वाइट हाउसले जनाएको छ ।

उनको गोडा सुन्निएपछि चिकित्सकलाई देखाउँदा त्यस्तो रोग लागेको थाहा भएको हो । ह्वाइट हाउसका चिकित्सक सीन बार्बाबेलाले ट्रम्पलाई डीप भीन थ्रोम्बोसिस जस्तो गम्भीर रोग नलागेको बताएका छन् ।

७० वर्षभन्दा माथिका मानिसलाई क्रोनिक भिनस इन्सफिसिएन्सी लाग्न सक्छ र यो सामान्य कुरा भएको सीनले विज्ञप्ति जारी गरेर बताएका छन् । त्यसैले ट्रम्पलाई बाँकी कार्यकाल चलाउन यो रोगले खासै समस्या नपर्ने देखिएको छ ।

गोडाका नसाहरूले रगतलाई राम्ररी मुटुसम्म पु¥याउन नसक्दा यो रोग लाग्छ । त्यस अवस्थामा गोडाको तल्लो भागमा रगत जम्छ ।

गोडा र गोलीगाँठोमा सुन्निुका साथै गोडा दुख्ने, भारी अनुभव हुने चस्स घोचे जस्तो हुने लक्षण देखिन्छ । यो चर्किंदै गएमा गोडामा घाउ आउँछ जसलाई अल्सर भनिन्छ ।

गोडाबाट मुटुसम्म पुग्नका लागि गुरुत्वाकर्षणको चुनौती बेहोनुपर्छ । लामो समयसम्म उभिने वा बस्ने मानिसमा यो समस्या आउँछ । गोडाका नसाहरूमा एकतर्फी भल्भहरू हुन्छन् र तिनले रगतलाई फेरि त्यही बाटोमा फर्किन दिँदैनन् । यी भल्भहरूमा क्षति पुग्दा नै क्रोनिक भिनस इन्सफिसिएन्सी रोग लाग्छ ।

क्लिभल्यान्ड क्लिकिनका अनुसार, यो रोग लाग्न नदिनका लागि गोडा उचालिरहने र औसत तौल कायम गर्ने गर्नुपर्छ । हिँड्ने लगायतका व्यायाम पनि गरिरहनुपर्छ । त्यसो गर्दा गोडाका मांसपेशी बलियो भएर नसालाई भ्यापिदिन्छ र रगत प्रवाह गराउन सहयोग गर्छ । तर, रोग चर्किएमा औषधोपचार गर्नुपर्छ ।