एमाले महाधिवेशनमा सहभागिता केन्द्रीय समितिको निर्णयमा निर्भर: विद्या भण्डारी

126
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को आगामी विधान महाधिवेशनमा आफ्नो सहभागिता पार्टीको केन्द्रीय समितिको निर्णयमा निर्भर हुने स्पष्ट पारेकी छन् ।

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित पत्रकार सम्मेलनमा मंगलबार बोल्दै उनले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्र सहभागी हुने व्यवस्था भएकाले आफ्नो सहभागिताबारे अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने बताइन् ।

‘असार १४ गते बोलेको छु कि मैले एमालेको सदस्यता नवीकरण गरिसकेको छु,’ उनले भनिन्, ‘पार्टी परिवारमा पुनः जोडिएकी छु र यहीं सक्रिय भएर देशको सेवा गर्ने उद्देश्य लिएको छु ।’

उनले थपिन्, ‘महाधिवेशनमा कसले के भूमिका खेल्ने भन्ने विषय पार्टीको केन्द्रीय नेतृत्वले निर्णय गर्ने हो । महाधिवेशनअघि अहिलेको सर्वोच्च निकाय केन्द्रीय समिति भएकाले निर्णय पनि उसैले गर्नेछ ।’

भण्डारीले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको विषयमा पनि धारणा राखिन् । उनका अनुसार दशौं महाधिवेशनका प्रतिनिधिहरू नै यसपटकको विधान महाधिवेशनमा सहभागी हुने भए पनि बीचमा भएका अधिवेशन, सम्मेलन र जनसंगठनहरूको नेतृत्व परिवर्तनले नयाँ प्रतिनिधित्वको आवश्यकता देखिएको छ ।

‘नयाँ नेतृत्व, मनोनयन, र विभिन्न तहमा भएको पुनर्संरचनाले प्रतिनिधित्वको स्वरूपमा फरक आएको छ,’ उनले भनिन्, ‘त्यसैले कसरी प्रतिनिधित्व गराउने भन्ने विषय पनि केन्द्रीय समितिले छलफल गरेर तय गर्नेछ ।’

उनले आफ्नो सहभागिता पार्टीले कसरी गराउने भन्नेबारे आफूले आग्रह नगरेको र त्यस निर्णयमा पूर्ण रूपमा पार्टीको माथिल्लो नेतृत्वको निर्णय मान्ने बताइन् ।

‘म प्रतिनिधिको रूपमा आउँछु कि आमन्त्रित सदस्यको रूपमा, त्यो उहाँहरूको निर्णय हो । यसमा मैले ‘यही हुनुपर्छ’ भनेर जोड दिन्न,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।