जीवन बिमा कम्पनीलाई नवीकरण र म्यादी बिमाशुल्क समेत लक्ष्यमा समावेश गर्न प्राधिकरणको निर्देशन


काठमाडौं । नेपाल बिमा प्राधिकरणले सबै जीवन तथा लघुजीवन बिमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि व्यवसायिक लक्ष्य निर्धारण गर्दा नवीकरण बिमाशुल्क र म्यादी जीवन बिमाशुल्कलाई पनि अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले हालै जारी गरेको परिपत्रमार्फत बिमकहरूलाई मातहतका कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय तथा विभागहरूका लागि व्यवसायिक लक्ष्य (मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक) तय गर्दा प्रथम बिमाशुल्कका साथै नवीकरण र म्यादी बिमाशुल्क पनि समावेश गर्न स्पष्ट रूपमा निर्देशन दिएको हो ।

हालसम्म बिमकहरूले व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक तथा एकल बिमाशुल्क भुक्तानी हुने बिमालेखहरूलाई मात्र प्राथमिकता दिँदै आएको गुनासो प्राधिकरणमा बढ्दै गएको थियो । यसका कारण बिमालेख नवीकरण नहुनु, बीमा अवधिभित्रै समर्पण वा व्यतित हुने समस्या बढेको तथा बीमा सेवा पहुँच न्यून आय भएका वर्गसम्म नपुगेको भन्दै प्राधिकरणले उक्त निर्देशन जारी गरेको हो ।

प्राधिकरणले बिमाको पहुँच विस्तार, बिमा सेवा गुणस्तर अभिवृद्धि र दीगो व्यवसायिक प्रवर्द्धनका लागि नवीकरण र म्यादी बिमाशुल्कलाई पनि रणनीतिक लक्ष्यको हिस्सा बनाउन आवश्यक रहेको उल्लेख गरेको छ । बिमकहरूले अबदेखि आफ्ना सम्पूर्ण तहका इकाइहरूलाई सोहीअनुसार लक्ष्य निर्धारण गर्नुपर्नेछ ।