
विराटनगर । साढे तीन दशक पहिला नवीन रिजाल विराटनगर बजारमा कवाडीसँग उधारोमा प्लास्टिकको स्क्रयाप किनेर दाना बनाउँथे, अनि त्यही दाना बिक्री गरेर उधारो तिर्ने व्यवसाय गर्थे । सँगै केही समय ग्रिजको व्यापार पनि गरे ।
दुवै कामबाट सन्तुष्ट हुन नसकेपछि उनलाई व्यवसाय गर्ने मनै मरेर आयो । त्यसपछि नवीनलाई कार्यालय सहयोगी माथिको खरदार सहित जुनसुकै पदमा जागिर खाने हुटहुटी चल्यो । त्यसका लागि उनी विराटनगरबाट काठमाडौं हुइँकिए ।
व्यवस्थापन संकायमा स्नातक गरेको सर्टिफिकेट हातमा बोकेर नवीन काठमाडौंका गल्लीमा ६ महिना भौंतारिए । तर भनेजस्तो जागिर पाएनन् । अनि निराश हुँदै घर फर्किन बाध्य भए ।
घर फर्केपछि उनलाई परिवारले पुनः उद्योग व्यापार गर्न सुझाव दिए । ४० को दशकमा उनका पिता विनयले प्लास्टिकको जर्किन (ग्यालेन) बनाउने उद्योग सञ्चालन गरेका थिए । त्यो उद्योगले सोचे जस्तो नाफा नदिएपछि कौडीको मोलमा बिक्री गरेका थिए ।
अल्लारे नवीनसँग जर्किन उद्योग चलाउन सामान्य हेक्का थियो । २०५० सालमा प्लास्टिकको पानी ट्यांकी बनाउने उद्योग खोले। त्यही उद्योगबाट पुनः व्यवसायलाई निरन्तरता दिएका उनै नवीन अहिले ७ सयभन्दा बढीलाई रोजगारी दिएर मासिक करोडौं तलब खुवाउने र आफू पनि मनग्ये नाफा गर्ने व्यवसायी बनेका छन् ।
‘रिजालको’ ब्रान्डको पानी ट्यांकी उनको स्थापित व्यवसाय हो । ३३ वर्ष अघि रिजालको पानी ट्यांकी उत्पादनबाट औद्योगिक यात्रा सुरु गरेका नवीनले अहिले एक दर्जन उद्योग चलाउँछन् ।
रिजालको पानी ट्यांकीदेखि रिजालको खाना पकाउने ग्यास, रिजालको पीभीसी, सीपीभीसी, एचडीपीई, गार्डेन, बोरिङ र ड्रोनेज पाइप तथा रोड डिभाइडर देखि गुट्खा समेत उत्पादन गर्दै वार्षिक अर्बौंको कारोबार गर्दै आएका छन् । रिजालको समूहले चाँडै रिफाइनरी तेल र स्टिलको ट्यांकी उत्पादन गर्ने उद्योग स्थापनाको तयारी गरेको छ ।
सुनसरीको इटहरीबाट सुरु भएको नवीनको औद्योगिक यात्रा यसबेला सुनसरीकै दुहवी, मोरङको हात्तीमुढा, ललितपुरको लुभुसम्म फैलिएको छ । चाँडै बालाजु औद्योगिक क्षेत्रबाट पनि औद्योगिक उत्पादन सुरु गर्ने उनको तयारी छ ।
पछिल्लो समय नवीनको औद्योगिक सफलताको कथा केवल उद्यमशीलताको उत्कृष्ट नमुना मात्र नभएर स्वदेशी उत्पादनको पहिचान र आत्मनिर्भरताको प्रतीक मानिँदै आएको छ ।
रिजालको ब्लो, पोलिट्यांक, सितल, हिमाल, पशुपति, कुलट्यांक, पीभीसी, सीपीभीसी, एचडीपीई, बोरवेल, गार्डेन पाइप, ड्रेनेड पाइप र रिजालको ग्यासमा रिजालले हात पारेको सफलता नेपाली उद्योग क्षेत्रका लागि प्रेरणादायी उदाहरण पनि हो ।
नवोदयी उद्योगी रिजालको संघर्षको कथाले असफलता र दृढता अनि सफलता चुम्ने प्रेरणादायी यात्राको प्रतिनिधित्व गरेको छ । ६ महिनासम्म हातमा सर्टिफिकेट बोकेर काठमाडौंका गल्लीगल्ली चाहर्दा खरदारको जागिर नपाएर निराश बनेका उनै ५६ वर्षीय नवीनको परिवार यसबेला सफल औद्योगिक घरानाका नामले चिनिन्छन् ।
ग्यालनदेखि पानी ट्यांकी उद्योगसम्मको यात्रा
परिवारमा प्लास्टिकको ग्यालन बनाउने अनुभव थियो । त्यही अनुभवका आधारमा नवीनले बुबा विनयको सुझावमा प्लास्टिकको पानी ट्यांकी बनाउन सुरु गरे, बैंकको २५ लाख ऋणमा ।
रिजाल परिवारमा पानी ट्यांकी बनाउने अनुभव थिएन । तर, परिवारले चुनौती मोल्ने हिम्मत गरेको थियो । पूर्वमा पहिलो पटक रिजालको ब्राण्डबाट स्थापना भएको यो उद्योगले सुरुमा पूर्वका उपभोक्ताको माग पूरा गर्ने लक्ष्य राखेको थियो । तर यसबेला यो उद्योगको उत्पादन देशभित्र मात्र नभएर विदेशमा पनि पुग्न थालेको छ । यही उद्योगले व्यापार गर्ने इच्छा मरेर जागिरको खोजीमा भौतारिएका नवीनलाई पुन उद्योग व्यापारमा फर्कन बाध्य मात्र बनाएन, एक सफल उद्योगीको पहिचान पनि बनायो ।
‘मलाई त्यसबेला कार्यालय सहयोगीभन्दा माथिको जुनसुकै भए पनि जागिर खाने भुत सवार भएको थियो । ‘तर पाइनँ,’ नवीनले विगत सम्झँदै भने, ‘जागिर नपाएर राम्रै भएछ ।’
३३ वर्ष पहिले २५ लाख ऋणमा उद्योग खुल्यो । ‘२५ सय रुपैयाँ बुझाएपछि ५ बोरा प्लास्टिकका दाना आउँथ्यो । त्यही दानाबाट ५ वटा ट्यांकी बन्थो,’ नवीन विगत सम्झँदै भन्छन्, ‘त्यही ५ वटा ट्यांकी बिक्री गरेर पुनः कच्चा पदार्थ किनेर थप ट्यांकी निर्माण गरेर बैंकलाई ऋण तिर्ने चक्र निकै वर्षसम्म चल्यो ।’
उसबेला जीआई र कंक्रिटका ट्यांकीले बजारमा एकाधिकार जमाएको थियो । रिजालले प्लास्टिकको पानी ट्यांकी उत्पादन सुरु गरेपछि मुलुकका पश्चिमी क्षेत्र (विराटनगर पश्चिम)मा रहेका अन्य प्रतिष्पर्धी उद्योगले आफ्नो उत्पादनको मूल्य ह्वात्तै घटाएर ग्राहक खोसे । त्यसको प्रत्यक्ष असर रिजालको उद्योगलाई पर्यो । रिजालको उद्योग सुरुवाती वर्षमा घाटा खेप्नु परे पनि ७ वर्षपछि उद्योगले लय समायो । उद्योगले त्यसपछि अहिलेसम्म विगतलाई फर्केर हेर्नु परेको छैन ।
उद्योगले उपभोक्ताको चाहाना बमोजिम सरल मूल्य राख्ने र डिजाइनमा सुधारलाई विशेष प्राथामिकता दियो । नवीनले भने, ‘त्यसकै कारण रिजालको ब्राण्डप्रति उपभोक्ताको आर्कषण अहिलेसम्म कायम छ ।’
रिजालको ट्यांकीलाई उपभोक्ता माझ स्थापित गराउन वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले खेलेको विज्ञापन ‘रिजालको ब्लो, जे गरेपनि फुट्दैन’ को भूमिका प्रमुख रह्यो ।
उद्योगले लय समाते लगत्तै रिजालले काठमाडौं लगायत पश्चिमी बजारमा आफनो ब्राण्डलाई परिचित गराउन ‘पानीभित्र सुन’ भन्ने सन्देश सहितको फ्लेक्स काठमाडौंका भित्तामा टाँसे । त्यो विज्ञापनले उपभोक्ताको मनोविज्ञापनमा सकारात्मक छाप पारेको नवीनको बुझाइ छ । ‘उपभोक्ता माझ रिजालको पोलिट्यांक ब्राण्ड स्थापित भएसँगै ललितपुरको लुभुबाट पनि उत्पादन सुरु गर्यौं,’ नवीनले भने, ‘चाँडै काठमाडौंको बालाजु औद्योगिक क्षेत्रबाट पनि पानी ट्यांकी उत्पादन सुरु गर्ने तयारी गरेका छौं,’ नवीनले थपे ।
२०५० सालमा २५ लाखको लागतमा इटहरीको ४ कठ्ठा जमिनमा स्थापना भएको यो उद्योग अहिले त्यहाँको ११ बिघा क्षेत्रफलमा फैलिएको छ । त्यतिमात्र होइन, २०६३ को दशकपछि यो उद्योग ललितपुरको लुभुसम्म विस्तार भएको छ ।
अहिले रिजालको उद्योगले उपभोक्ताको माग, चाहना र डिजाइनअनुरुपका १ सय देखि १० हजार लिटर पानी अटाउने रिजालको ट्यांक, पोलीट्यांक, सितल, हिमाल, पशुपति र कल ट्यांक उत्पादन गर्दै आएको छ । उद्योगले केही समयपछि स्टिलको ट्यांकी अनि रिफायनरी तेल उत्पादन गर्ने लक्ष्य राखेको नवीनको भनाइ छ ।
रिजालको ट्यांकीबाट सफलता र दाम कमाउँदै गएपछि नवीन पानी ट्यांकीमा मात्र सीमित रहेनन् । उनले २०६७ सालमा रिजालको ग्यास उद्योग खोले । ग्यास उद्योगले पनि उपभोक्तामा आफ्नो पहिचान बनाएपछि उनले २०७२ मा रिजालको पीभीसी, सीपीभीसी, एचडीपीई लगायतका पाइप उत्पादन सुरु गरेसँगै सुरुवाती २५ लाख रुपैयाँको लागतमा खुलेको यो औद्योगिक समूह यसबेला वार्षिक अर्बौंको कारोबार गर्दै आएको छ ।
तर, नवीन आफ्नो औद्योगिक क्षेत्रमा भएको लगानी र वार्षिक कारोबार खुलाउन चाहँदैनन् । भन्छन्, ‘राज्यलाई वार्षिक राम्रो राजस्व तिर्दै आएको छु ।’
उद्योगी व्यवसायीहरुको पुरानो संस्था मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेको नवीनलाई यो कर्ममा छोरा सनिशले सहयोग गर्दै आएका छन् ।
व्यवस्थापन संकायमा स्नातक गरेका २२ वर्षिय सनिशले बुबाको उद्योगमा हात हालेपछि नयाँ डिजाइन र प्रविधि भित्रिएर उद्योगको उचाई थप बढेको उनको विश्वास छ । छोरा सनिशकै डिजाइन र प्रविधिमा रिजाल समूहले स्टिलको ट्यांकी र रिफायनरी तेल उद्योग स्थापनाको तयारी गरेको छ ।
ट्यांकी निर्माणका लागि नवीनले सिंगापुर, कोरिया, साउदी अरब, मलेसिया, भियतनाम लगायतका मुलुकबाट कच्चा पदार्थ र केमिकल आयात गर्छन् । उनको उद्योगबाट उत्पादन भएका ट्यांकी मुलुक मात्र नभएर भारत र चीनको सीमावर्ती क्षेत्रमा खपत हुँदै आएको छ ।
उद्योगले उपभोक्ताको इच्छा र आवश्यकतालाई ध्यान दिँदै नयाँ सुविधा थप्ने र उपभाक्ताको आर्थिक क्षमता अनुसारको मूल्य निर्धारण गर्नु उद्योगको पहिलो रणनीति भएको उनको दाबी छ ।
रंगीन ट्यांकी, बिर्को सहितको ट्यांकी तथा फोहोर र किराबाट सुरक्षित रहन कभर अनि बिर्को सहितको ट्यांकी उत्पादन गरेपछि उद्योगको ख्याती झन् बढेको नवीनको विश्वास छ । उनका अनुसार उद्योगले थ्रिडेट क्याप उत्पादन गरी ट्यांकीमा हुक जडान गरेपछि उनको उत्पादन उपभोक्ताको नजरमा थप विश्वासिलो बनेको छ ।







प्रतिक्रिया