राष्ट्र बैंकले ल्यायो सजगतापूर्वक लचिलो कार्यदिशा सहितको मौद्रिक नीति, ब्याजदर करिडोरका सबै दर घटे

2.4k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचिलो कार्यदिशासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । समग्र माग अभिवृद्धि गर्न र निक्षेपको ब्याजदर ऋणात्मक हुन नदिन सजगता अपनाउने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताए ।

गभर्नर पौडेलले सार्वजनिक गरेको पहिलो मौद्रिक नीतिमा नेपाल सरकारको आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत पूरा गर्न विदेशी विनियम सञ्चिति पर्याप्तता ७ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेगरी कायम राख्दै मुद्रास्फीति ५ प्रतिशत राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको बताए । मौद्रिक तरलता र विदेशी विनियम नीतिलाई सोही अनुसार व्यवस्थापन गर्ने लक्षय रहेको उनले बताए ।

उनले सरकराले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशत र निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले विस्तार हुने अनुमान गरेको बताए ।

अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात यथावत राखेको मौद्रिक नीतिले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ र नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत बनाएका छन् ।

यस्तै निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा घटाएका छन् । उनले तरलता व्यवस्थापन गर्न आवश्यकता अनुसार नेपाल राष्ट्रबैंकको ऋणपत्र जारी हुने घोषणा गरे ।