आईपीओ जारी गर्न लागेको अर्घाखाँची सिमेन्टको प्रोफिट मार्जिन बढ्यो, भारतका कारण निर्यातमा सकस

98
Shares

काठमाडौं । अर्घाखाँची सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गत आवमा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब ७७ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२४ को ८ महिनाको तुलनामा चालु आवको ९ महिनाको अवधिमा १४ प्रतिशतले व्यापार बढेको उल्लेख गरेको छ ।

सन् १९९८ मा डाइनेस्टि इन्डस्ट्रिज नेपालको नाममा सञ्चालनमा आएको कम्पनीको नाम सन् २०११ मा परिणत गरी अर्घाखाँची सिमेन्ट राखिएको थियो । त्यस्तै कम्पनीले आईपीओ जारी गर्ने उद्देश्यसहित सन् २०२१ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले क्लिंकर र सिमेन्ट उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

वार्षिक १० लाख मेट्रिक टन क्लिंकर उत्पादन क्षमता रहेको कम्पनीसँग वार्षिक ८ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता छ । कम्पनीमा ८ जनाको व्यक्तिगत स्वामित्व रहेको छ भने नेपालका ठूला ग्रुपको लगानी छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र उमा सिमेन्ट इन्टरनेशनलको १७.५ प्रतिशत स्वामित्व रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका कम्पनीको अध्यक्ष हुन् ।

रुपन्देहीको मैनहियामा फ्याक्ट्री रहेको कम्पनीले हाल अर्घाखाँची सिमेन्ट ब्रान्ड नाममा ओपीसी र पीपीसी सिमेन्ट बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालन कर्जाका लागि ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले कर्जाको लिमिट गत वर्षको भन्दा घटाएको हो ।

गत वर्षकै हाराहारीमा सिमेन्ट बिक्री गरेको अर्घाखाँचीको नाफा मार्जिनमा भने निकै सुधार आएको छ । गत आवमा १४ प्रतिशतमात्र सञ्चालन नाफामा गरेको कम्पनीको यस वर्ष भने मार्जिन २२ प्रतिशत पुगेको छ ।

उधारो उठ्ने, ऊर्जा तथा इन्धन लागत घट्दा कम्पनीको नाफा बढेको छ ।

यता गत वर्षको कुल व्यापारमा १२ प्रतिशत योगदान निर्यातको रहेको कम्पनीको भनाइ छ । तर, चालु आर्थिक वर्षमा भारतले बीआईएस सर्टिफिकेसन नवीकरण नगर्दा निर्यात घटेको छ ।

यसैगरी कम्पनीको खुद चालुपुँजी कर्जा र सञ्चालन आम्दानीको अनुपात ५० प्रतिशत रहेको छ । जुन एक वर्षअघिको ४७% भन्दा केही बढी हो ।

अर्घाखाँची सिमेन्टले प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)गर्नका लागि आवश्यक प्रक्रिया थालनी गरिसकेको छ । जसका लागि एनएमबि क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ ।

यद्यपि धितोपत्र बोर्डमा आईपीओ निष्काशन स्वीकृतिका लागि आवेदन दिइसकेको छैन । कम्पनीले सम्भव भएसम्म बुक बिल्डिङबाट नभए प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको हो ।