
काठमाडौं । तिब्बतको लिंदे खोला फुटेर भोटेकोशीमा आएको बाढीले नेपाल-चीनको सीमास्थित मितेरी पुल बगाएको छ।
चीनको भन्सार र प्रशासनिक भवनको ठिक अगाडिपट्टि नेपाली भूभागमा क्षति गरेको हो । बाढीले पक्की पुल बगाउनुका साथै भन्सार र्याडमा भएको कन्टेनरहरू पनि बगाएको छ। बाढीका कारण सुक्खा बन्दरगाहसमेत बगेको छ ।
बाढीले चीनबाट आयात भएको ठूलो संख्यामा विद्युतीय सवारी साधनसमेत बगाएको छ यस्तै चीनबाट मालसामानसहित आएको दर्जनौं कन्टेनर पनि बाढीमा परेको चीनसँग व्यापार गर्दै आएका स्थानीय व्यवसायी तथा नेपाल ट्रान्स हिमालय बोर्डर कमर्श एशोसिएसनका कार्यसमिति सदस्य जितेन्द्र दाहालले जानकारी दिए ।

दाहालका अनुसार बिहान साढे तीन बजे बाढी आएको थियो । बाढीको भेलमा केहि कन्टेनरसमेत डुबानमा परेर बगेको हुँदा सर्वसाधारण पनि हताहत भएको हुन सक्ने उनको अनुमान छ । तर यसबारे कुनै पुष्टि भएको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले रसुवामा आएको बाढीले मितेरी पुल बगाएको जानकारी आएको बताए ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका छन् ।
हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए ।
यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।
यस्तै टिम्मुरे सुख्खा बन्दरगाहमा अत्यधिक क्षति पुर्याउनुका साथै पूर्ण रुपमा डुबानमा परेको छ । सुक्खा बन्दरगाह बनाउने ४ जना चिनियाँ नागरिकसमेत बेपत्ता भएको जनाइएको छ ।
केहि साताअघि चीन सरकारका साथै नेपाल सरकारले उक्त क्षेत्रमा ठूलो वर्षा हुने र बाढी आउन सक्ने जानकारी गराएको थियो ।

जिल्ला प्रशासन कार्यालय रसुवा, धादिङ , नुवाकोटले त्रिशुली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएको कारण सडक पुलमा समेत केही क्षति पुर्याएकोले धादिङ जिल्लाको त्रिशुली नदी किनारका दुवै तर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।










प्रतिक्रिया