
एजेन्सी । रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीच भविष्यमा युद्ध भएमा पहिलो वर्षमै १५ खर्ब डलर खर्च हुने ब्लूमबर्ग सञ्चारमाध्यमले प्रक्षेपण गरेको छ ।
गत साता प्रकाशित ब्लूमबर्ग ग्राफिक्समा गरिएको आर्थिक प्रक्षेपण अनुसार, युद्धग्रस्त क्षेत्रमा पुग्ने क्षतिका साथै रुसबाट हुने ऊर्जा आपूर्तिमा अवरोधका कारण हुने मूल्यवृद्धि र वित्तीय बजारमा आउने उथलपुथलका कारण विश्वको कुल गार्हस्थ्य उत्पादनको १.३ प्रतिशतले कमी आउनेछ । त्यो भनेको पहिलो वर्षमै १५ खर्ब डलर खर्च हो र युक्रेनमाथि रुसको आक्रमणका कारण भएको खर्च बराबर हुन आउँछ ।
युद्ध भएको खण्डमा बाल्टिक क्षेत्रका मुलुकहरूलाई बढी असर पर्नेछ । उनीहरूको कुल गार्हस्थ्य उत्पादनमा ४३ प्रतिशतले कमी आउनेछ ।
लडाइँमा रुसले लिथुएनियासम्म पुग्ने मस्को–कालिनिनग्राद रेललाई रोक्ने र त्यसपछि त्यहाँ रहेका रुसी नागरिकहरूको सुरक्षाको बहाना बनाएर लिथुएनियामाथि आक्रमण गर्ने अनुमान ब्लूमबर्गले गरेको छ ।
जर्मनी, पोल्यान्ड, फिनल्यान्ड र स्विडेन लगायतका नेटो सदस्यहरूले बाल्टिक साझेदारहरूको प्रतिरक्षा गर्नेछन् । तर, रक्षा खर्च बढेपछि ती मुलुकहरूको कुल गार्हस्थ्य उत्पादन १.२ प्रतिशतले घट्नेछ ।
अमेरिका चाहिँ यस युद्धमा सहभागी नहुने र राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रथ सोसल अकाउन्टबाट संसारभरि शान्तिको अपील गरिबस्ने ब्लूमबर्गको अनुमान छ ।








प्रतिक्रिया