
काठमाडौं । इरानलाई आणविक हतियार बनाउन नदिने भन्दै इजरायलले गत शुक्रवारदेखि थालेको आक्रमण र इरानको प्रत्याक्रमणले पश्चिम एसिया पुनः युद्धको चपेटामा परेको छ । इरानलाई घुँडा टेकाउनका लागि अमेरिका पनि युद्धमा सहभागी हुने सम्भावना बढेको छ ।
यस्तो स्थितिमा इरान र इजरायलका सेना र हतियारबीचको तुलना सान्दर्भिक हुन्छ ।
सैनिक संख्याको सवालमा इजरायल भन्दा इरानसँग धेरै सैनिक छन् । इन्टरनेशनल स्टडीज फर स्ट्राटेजिक स्टडीजको पछिल्लो अध्ययन अनुसार, इरानसँग ९ लाख ६० हजार सैनिक छन् । तीमध्ये ६ लाख १० हजार तयारी अवस्थामा रहेका सैनिक हुन् भने बाँकी ३ लाख ५० हजार चाहिएको बेलामा उपयोग गर्न मिल्ने जगेडा (रिजर्भ फोर्स) सैनिक हुन् । त्यसबाहेक इराक, लेबनन लगायतका स्थानमा इरानका लागि छद्मयुद्ध लड्ने प्रोक्सी सैनिकहरू पनि छन् तर तिनको यकिन संख्या थाहा छैन ।
उता इजरायलसँग भने १ लाख ६९ हजार ५०० तयारी अवस्थामा रहेका सैनिक छन् र जगेडा सैनिक ४ लाख ६५ हजार ५०० छन् । सबै मिलाएर इजरायलसँग ६ लाख ३४ हजार ५०० सैनिक छन् ।
इजरायल र इरानको सीमा नजोडिने भएकाले यो द्वन्द्व तत्कालका लागि आकाशबाटै भइरहेको छ । अहिले इजरायलसँग अमेरिकी कम्पनी लकहीड मार्टिनले बनाएको ३९ वटा एफ–३५ लडाकू विमान छ । यी विमानहरूले गोप्य रूपमा रेडार डिफेन्सलाई छलेर शत्रुमाथि आक्रमण गर्न सक्ने बताइएको छ ।
इजरायलसँग १९६ वटा एफ–१६ र ७५ वटा एफ–१५ लडाकू विमानहरू रहेको बताइन्छ । ती विमानहरू १९ सय ७६ किलोमिटर प्रतिघन्टादेखि ३ हजार ९७ किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्छन् । त्यसैको बलमा इजरायलले यस द्वन्द्वमा इरानका शीर्ष सैन्य नेतृत्व र आणविक वैज्ञानिकहरूलाई सटीक रूपमा तारो बनाएर हत्या गरेको छ ।
इरानले अहिलेको द्वन्द्वमा इजरायलको तीनवटा एफ–३५ लडाकू विमान खसाएको र एक पाइलट नियन्त्रणमा लिएको दाबी गरेको छ तर इजरायलले त्यस दाबीलाई खारेज गरेको छ ।
उता, इरानसँग १८० वटा रुसी लडाकू विमान छ । ती विमानहरू पुराना छन् र पश्चिमले लगाएको प्रतिबन्धका कारण इरानले तिनको स्तरोन्नति गर्न सकेको छैन । त्यसैले यस द्वन्द्वमा इरानले लडाकू विमान भन्दा पनि क्षेप्यास्त्र र ड्रोनहरू उपयोग गरिरहेको छ ।
ती क्षेप्यास्त्रमा शाहेद १३६, इमाद, खोर्रमशहर–४ र फत्तह पर्छन् । १४ सय किलोमिटरदेखि लिएर २५ सय किलोमिटर टाढासम्म मार हान्न सक्ने ती क्षेप्यास्त्र इजरायलको कुनै पनि भागमा पुग्न सक्छन् । अझ, फत्तह अन्तर्गत ध्वनिको गतिभन्दा १५ गुणा छिटो उड्ने हाइपरसोनिक क्षेप्यास्त्र पनि रहेको बताइन्छ । इजरायलविरुद्ध हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको भनी इरानको रिभोल्युशनरी गार्ड कोर्प्सले दाबी गरेको छ । त्यस्ता हाइपरसोनिक क्षेप्यास्त्रलाई कुनै पनि प्रतिरक्षा प्रणालीले रोक्न असम्भव भएकाले इरानले इजरायली शहर र तेल प्रशोधन केन्द्रहरूलाई तारो बनाउन सफलता पाएको छ ।
इरानसँग हाइपरसोनिक बाहेकका क्षेप्यास्त्रहरू २ हजारदेखि ३ हजारसम्म भएको बताइन्छ र उसले प्रत्येक महिना ३०० देखि ५०० क्षेप्यास्त्र उत्पादन गर्दै आएको छ । इरानको आणविक हतियार र क्षेप्यास्त्र निर्माणलाई ध्वस्त पार्न खोजेको इजरायलविरुद्धको प्रतिकारमा इरानलाई यी क्षेप्यास्त्रहरूले सहयोग गरिरहेका छन् ।
इजरायलसँग चाहिँ अत्याधुनिक प्रतिरक्षा प्रणाली छ जसले शत्रुको अधिकांश क्षेप्यास्त्रलाई आकाशमै खसाइदिन सक्छ । आइरन डोम, एरो–३, डेभिड्स स्लिङ र आइरन बीमलाई इजरायलले विभिन्न तहमा राखेर भरपूर उपयोग गरिरहेको छ । त्यसमाथि अमेरिकाले पेट्रियट क्षेप्यास्त्र प्रणाली इजरायलको प्रतिरक्षा प्रणालीमा लगाएको छ । त्यसको दायरा ७० किलोमिटरसम्मको छ ।
तर इरानले ठूलो संख्यामा एकैपटक क्षेप्यास्त्र प्रहार गर्दा र हाइपरसोनिक क्षेप्यास्त्रको समेत उपयोग गर्दा इजरायली प्रतिरक्षा प्रणालीले रोक्न नसकेको देखिन्छ ।
आणविक हतियारको कुरा गर्नुपर्दा, अहिलेको द्वन्द्व इरानको आणविक हतियार बनाउने क्षमतालाई ध्वस्त पार्ने इजरायलको लक्ष्यका कारण सुरु भएको हो । इरानले आणविक हतियारका लागि नभई बिजुली निकाल्ने लगायतका गैरसैन्य प्रयोजनका लागि युरेनियम संवर्धन गरिरहेको भनी तर्क गरेको छ ।
आणविक हतियार (वारहेड) बनाउनका लागि युरेनियमलाई ९० प्रतिशत संवर्धन गर्नुपर्छ जबकि अहिले इरानले ६० प्रतिशत संवर्धन गरिरहेको छ । इजरायल र अमेरिकाले इरानबाट युरेनियम संवर्धनको प्रतिशत बढ्ने विश्वास गर्छन् । त्यसैले गर्दा इजरायलले इरानको नतान्ज र फोर्दोमा रहेको आणविक भट्टीमा आक्रमण गरेको हो । त्यसो त यही विषयमा अमेरिका र इरानबीच ओमानमा गत आइतवार वार्ता हुनुपर्ने थियो तर इजरायली आक्रमणका कारण उक्त वार्ता हुन सकेन ।
उता, इजरायलले चाहिँ आफूसँग आणविक हतियार भए नभएको पुष्टि गरेको छैन । संसारभरि हतियारको खरिदबिक्री र उपलब्धताका विषयमा निगरानी गर्ने संस्था स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार, आणविक हतियार भएका नौवटा मुलुकमध्ये इजरायल पनि एक हो । उससँग ८० देखि ४०० वटा आणविक वारहेडहरू रहेको विश्वास गरिन्छ । डिमोना शहर नजिक रहेको नेगेभ आणविक अनुसन्धान केन्द्रमा इजरायलको गोप्य आणविक हतियार रहेको बताइन्छ ।
इजरायलसँग भएको यही आणविक हतियारका कारण पनि इरानले निकै संयमित भएर प्रत्याक्रमण गरिरहेको हो । आणविक केन्द्रमा प्रहार भएर त्यो ध्वस्त भएमा त्यसबाट आउने परिणाम (फलआउट) भयावह हुनेछ । तर, इरानसँग आणविक हतियार नभएकाले इजरायलले इरानमाथि खुलेर आक्रमण गर्न सकेको हो । वास्तवमा आणविक हतियारको प्रयोजन आक्रमण निवारण (डिटरेन्स) का लागि मात्र हो र यसलाई युद्धमा हतपती उपयोग गरिँदैन । इजरायलले आफ्नो अस्तित्व नै संकटमा परेको भनी अनुभव गरेमा चाहिँ आणविक हतियारको उपयोग गर्न सक्छ । त्यो स्थितिमा तेस्रो विश्वयुद्ध आरम्भ हुन्छ ।
इजरायलले इरानको फोर्दोमा रहेको आणविक केन्द्रलाई ध्वस्त बनाउन चाहेको छ तर त्यो जमीनभन्दा निकै तल भएकाले उससँग त्यसलाई ध्वस्त पार्ने हतियार छैन । त्यसैले इजरायलले अमेरिकासँग बंकर बस्टिङ वेपन अर्थात् सुरुङलाई ध्वस्त बनाउने हतियार चाहेको छ । त्यो भनेको १३ हजार ६०७ किलो बराबरको बम हो जबकि इजरायलसँग २२ सय ७० किलोको बम मात्र छ ।
अहिलेसम्म त अमेरिकाले आफूलाई यस द्वन्द्वबाट टाढै राखेको छ । तर इजरायललाई उसले सहयोग गरेर इरानलाई अप्ठ्यारो स्थितिमा पुर्याएमा इरानले पश्चिम एसियामा रहेको अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्न सक्छ । अरब सागरमा अमेरिकाको एउटा विमानवाहक युद्धपोत यूएसएस कार्ल भिन्सन छ जसमा ६० वटा लडाकू विमानहरू रहेका छन् । त्यसबाहेक अमेरिकाले दक्षिण चीन सागरबाट यूएसएस निमिट्ज नामक विमानवाहक युद्धपोत पनि पश्चिम एसियातर्फ पठाएको छ । त्यसबाहेक पनि पश्चिम एसियामा रहेका अमेरिकाका विभिन्न सैन्य अड्डामा लडाकू विमान र हजारौं सैनिकहरू तयारी अवस्थामा छन् ।
अमेरिकाले इराकको राजधानी बग्दादबाट आफ्ना कूटनीतिकर्मीहरूलाई फिर्ता बोलाएको र बृहत्तर पश्चिम एसियाबाट अमेरिकी सैनिकका परिवारलाई अमेरिका फर्किनका लागि विकल्प दिएको देख्दा अमेरिका पनि यस युद्धमा होमिने हो कि भन्ने संकेत पाइएको छ । उता, अमेरिकालाई कुनै पनि युद्धमा होम्न नहुने भनी आवाज उठाइरहेका व्यक्तिलाई राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गरेको देख्दा पनि युद्धमा अमेरिकी संलग्नतालाई खारेज गर्न सकिँदैन । अमेरिका पनि सहभागी भएमा यस युद्धको दायरा फराकिलो हुन सक्छ किनकि यसले रुसको रणनीतिक र चीनको आर्थिक जोखिम बढाइदिने भएकाले उनीहरू पनि मौन बस्न सक्दैनन् ।
चीनले यस द्वन्द्वमा इरानलाई समर्थन गरिरहेको भए पनि हातहतियार उपलब्ध गराएको चाहिँ छैन । तर गत फेब्रुअरी महिनामा चीनले इरानलाई १ हजार टन सोडियम परक्लोरेट नामक पदार्थ बेचेको थियो । त्यो क्षेप्यास्त्रमा उपयोग हुने इन्धन बनाउने एक पदार्थ हो । त्यसलाई प्रशोधन गरेर एमोनियम परक्लोरेट बनाइएमा त्यसले २६० वटा खैबर शेकान र २०० वटा हाई कासेम क्षेप्यास्त्रहरूमा इन्धन राखेर इजरायलमाथि आक्रमण गर्नका लागि उपयोग गर्न सक्ने यहुदी अमेरिकी विश्लेषक रामी क्रिस रोबिन्सले लेखेका छन् । त्यसबाहेक चीनले इरान र यमनका हूतीहरूलाई ड्रोनका इन्जिन, बलिस्टिक क्षेप्यास्त्रका लागि जीपीएस गाइडेन्स मोड्युल र हतियारमा उपयोग हुने विद्युतीय उपकरणहरू पनि बेचेको छ ।
रुसले चाहिँ पश्चिम एसियामा इरान र इजरायल दुवैसँग सन्तुलित सम्बन्ध राखिरहेको भएर कसैको पक्षमा आफूलाई उभ्याउने लक्षण देखाएको छैन । इरानसँग रणनीतिक साझेदारी सम्झौता गरेको भए पनि इरानको प्रतिरक्षाका लागि उभिने सोच रुसले नबनाएको विश्लेषकहरू बताउँछन् । यस द्वन्द्वको जडका रूपमा रहेको युरेनियम संवर्धनको समस्या समाधान हुने गरी संवर्धिक युरेनियमलाई इरानबाट हटाएर त्यसलाई गैरसैन्य रियाक्टर फ्युलमा परिणत गर्नका लागि आफूले सहयोग गर्ने रुसले प्रस्ताव गरेको छ । तर इरानमाथि अमेरिकी कब्जा भएको रुसले देख्न चाहेको छैन ।
यी सबै परिस्थितिहरूका कारण यो युद्ध थप चर्किने सम्भावना बढेको छ । युद्धको चपेटामा संसारलाई पार्नुको साटो शक्तिराष्ट्रहरूले कूटनीतिक पहललाई अघि बढाउनु जरुरी छ ।







प्रतिक्रिया