वीरगञ्ज नाकाबाट १० महिनामा पाँच खर्ब छ अर्बको आयात हुँदा ७९ अर्बको निर्यात

70
Shares

वीरगञ्ज । वीरगञ्ज नाकाहुँदै चालु आर्थिक वर्षको १० महिनामा पाँच खर्ब छ अर्ब ६७ करोड रुपैयाँको विभिन्न वस्तु नेपालमा भित्रिएका छन् ।

आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाहुँदै भित्रिने समानको हिस्सा १२.७५ अर्थात् ५७ अर्ब ३० करोड रुपैयँ बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् ।

चालु आवको १० महिनामा यो नाकाहुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्र एक खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाकाहुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा ४५ अर्ब ७९ करोड रुपैयाँ छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताए ।

चालु आवको १० महिनामा २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् ।

सोही अवधिमा २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन् ।

चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको १० महिनामा ७९ अर्ब तीन करोड रुपैयाँबराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ ।

जबकि गत आवको १० महिनामा यो नाका हुँदै २५ अर्ब ४८ करोड मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने दुई सय १० दशमलव १६ प्रतिशत अर्थात् ५३ अर्ब ५५ करोड रुपैयाँ बढीको निर्यात भएको हो ।

चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ । चालु आवको १० महिनामा ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ ।

जबकि गत आवको सोही अवधिमा नौ करोडका चार लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो । चालु आवको १० महिनामा सात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।

जबकि गत आवको १० महिनामा १० करोड रुपैयाँको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।