एमाले-राजावादी प्रदर्शन: करिब ८०० ट्राफिक परिचालन, यी स्थानमा सवारी जाम

1.1k
Shares

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा नेकपा एमाले र राजावादी समूहद्वारा आयोजना गरिएका छुट्टाछुट्टै प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ । विभिन्न कार्यक्रमका कारण बिहीबार बिहानैदेखि काठमाडौंको ट्राफिक व्यवस्थापन असहज बनेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार तत्कालका लागि ७८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवश्यक परे थप गर्ने व्यवस्था पनि गरिएको छ । उनका अनुसार प्रदर्शन स्थलहरूतर्फ सवारी प्रवेश निषेध गरी वैकल्पिक मार्ग प्रयोग गराउने गरी डाइभर्सन गरिएको छ ।

गणतन्त्र दिवसको मुख्य समारोह बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको थियो । सो क्रममा राष्ट्रपति कार्यालयदेखि टुँडिखेलसम्मको सडक केही समय एकतर्फी सञ्चालन गरिएको थियो ।

एमालेले गणतन्त्र दिवसको उत्सव स्वरूप सांस्कृतिक झाँकीसहितको र्‍याली आयोजना गरेको छ । यो र्‍याली भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, वीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै सम्पन्न हुनेछ। यस कार्यक्रमको समय दिउँसो २ बजेसम्म तोकिएको छ ।

त्यसपछि, राजावादीले गणतन्त्र खारेज गर्दै राजसंस्थाको पुनःस्थापनाको मागसहित रत्नपार्क–शान्तिबाटीका क्षेत्र केन्द्रित प्रदर्शन गर्ने तयारी गरेका छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले दुबै समूहका कार्यक्रमलाई लक्षित गरी पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।निषेधित क्षेत्रमा प्रवेश नहोस् र कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा योजना बनाई आवश्यक जनशक्ति परिचालन गरिएको उनको भनाइ छ ।