भन्सार कार्यालयका प्रमुखमाथि कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

567
Shares

धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक धामी, उनका चालक हसनबहादुर मल्ल, प्रहरी जवान जितेन्द्रसिंह धामी र हवल्दार मणिदत्त भट्ट छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रमुख तिमिल्सिनाले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

शनिबार राति भन्सार कार्यालयभित्र पसी तिमिल्सिनामाथि कुटपिट गरिएको घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

धामीलाई झलारीबाट र अन्य तीन जनालाई धनगढीबाट सोमबार बिहान पक्राउ गरिएको हो । हाल उनीहरू प्रहरी हिरासतमा छन् र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, धामीलाई धनगढी उपमहानगरपालिकाले २४ घण्टे स्पष्टीकरण सोधी अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरिसकेको छ।