
तनहुँ । व्यास नगरपालिकामा पर्ने मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकास्थित मादी पुलबाट शनिबार राति साढे ११ बजे उक्त नदीमा खसेको थियो । जीप अनियन्त्रित भएर पुलमाथि निर्माण भएको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त जीपमा सवार व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगरको मृत्यु भएको छ भने दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् ।
घाइतेमध्ये रौनिहारको दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रेफर गरिएको छ भने चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा पाँच जना यात्रु सवार थिए ।








प्रतिक्रिया