नख्खु बाढीबाट बाबुछोरी बचाउने चणिकलाललाई प्रदेश सरकारको डेढ लाखको पुरस्कार

434
Shares

काठमाडौं । नख्खु खोलाको भिषण बाढीबाट बाबुछोरी बचाउने चणिकलाल तामाङलाई वागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा पुरस्कृत गर्ने भएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले चणिकलाललाई पुरस्कार दिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

यसरी साहस गरेर ज्यान जोगाउने कर्म गरेका चणिकलाललाई बागमती प्रदेश सरकारले एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ।

मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा रहने प्रदेशस्तरीय गणतन्त्र दिवस २०८२ मूल समारोह समितिले चणिकलाललाई उक्त पुरस्कारसहितको सम्मान गर्ने निर्णय गरेको छ।

गत असोजको १२ गते ललितपुरको नख्खु खोलामा आएको बाढीले त्यतिवेला धेरैको ध्यान खिचेको थियो। नख्खु खोलाको बाढी छेउको बस्तीमा पस्दा टिनको टहरामा बस्ने परिवार घण्टौँसम्म टहरोको छतमा बसेर उद्धारको याचना गरिरहेका थिए। तर समयमै उद्धार हुन नसक्दा टहरो भत्किएर त्यहाँ रहेका चारै जना बगेका थिए।

बगेका एक जना आफै पौडिएर जोगिएका थिए भने दुई जनाको ज्यान काभ्रेको तेमाल गाउँपालिका–९ का तामाङले बर्खे भेलमा पसेर जोगाएका थिए। एक बालिका भने बेपत्ता भइन।

तामाङले साहसको प्रदर्शन गर्दै रौतहट घर भई त्यहाँ बसोबास गरिरहेका राजु साह र उनकी छोरी ६ वर्षीय मेघनालाई बचाएका थिए ।