अख्तियारको अनुसन्धानपछि गृहद्वारा विमानस्थल अध्यागमनका थप ८ जनाको सरूवा

1.1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको मानव तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि गृह मन्त्रालयले अध्यागमन कार्यालयका १५ जना कर्मचारीको सरुवा तथा जिम्मेवारीमा परिवर्तन गरेको छ।

छानबिन प्रारम्भसँगै मन्त्रालयले विमानस्थलमा कार्यरत ६ जना नायब सुब्बाहरूलाई फिर्ता बोलाएको थियो । एक मन्त्रालय स्रोतका अनुसार, भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय आफैंले पनि आन्तरिक छानबिन गरिरहेको हुँदा ती कर्मचारीलाई हटाइएको हो ।

यसबीच, अख्तियारले केही दिनअघि अध्यागमन कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात तथा कम्प्युटर उपकरणहरू बरामद गरेको छ । सो कारवाहीका क्रममा अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । उनलाई भोलिपल्ट पुनः उपस्थित हुने शर्तमा छोडिएको बताइएको छ ।

अनुसन्धानको क्रमसँगै गृह मन्त्रालयले थप ८ जना कर्मचारीको पनि सरुवा गरेको छ । नासु प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयमा तथा नरबहादुर थापालाई बाँके जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । साथै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरूङ, तथा धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

अध्यागमन कार्यालयमाथि बिचौलियासँग मिलेर भिजिट भिसामा विदेश पठाउन आर्थिक लाभ लिने आरोप लागेको छ । अख्तियारले यस विषयमा करिब एक महिनाअघि नै अनुसन्धान थालेको थियो । अनुसन्धानको जानकारी पाएपछि सहसचिव भट्टराईले सरुवाको माग गरेका थिए ।

अख्तियारले अनुसन्धानलाई तीव्रता दिइरहेका बेला गृह मन्त्रालयले अध्यागमन कार्यालयमा व्यापक हेरफेर गरिरहेको छ । हालसम्म १५ जना कर्मचारीको सरुवा भइसकेको छ ।