
काठमाडौं । सहकारी ठगी मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।
सोह्रखुट्टेमा रहेको दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण तिर्न अस्वीकार गरेपछि काठमाडौं जिल्ला अदालतको पक्राउ आदेशका आधारमा सोह्रखुट्टे प्रहरीले उनलाई पक्राउ गरी अपराध महाशाखामा बुझाएको हो ।
प्रहरीका अनुसार अब अर्याललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिनेछ ।
२०७४ साल जेठ ३० गते अर्यालले सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । उनी त्यसबेला संस्थाको सञ्चालक समितिमा समेत संलग्न थिए । सहकारीले पटक-पटक लिखित र मौखिक अनुरोध गर्दा पनि उनले साँवा र ब्याज तिर्न अस्वीकार गरेपछि २०७९ पुस ४ गते संस्थाले काठमाडौं जिल्ला अदालतमा ठगीको मुद्दा दायर गरेको थियो ।
अदालतले २०८० साल असार २७ गते अर्याललाई रकम भुक्तानी गर्न आदेश दिएको थियो । तर सो आदेशपछि पनि उनले किस्ताबन्दीमा वा एकमुष्ठ भुक्तानी नगरेपछि सहकारीले पुनः अनुरोध गर्दा पनि अर्यालले अटेरी गर्दै आए ।
संस्थाका सचिव प्रल्हाद लोहनीका अनुसार, अर्यालको निरन्तर असहयोगपछि जनताको जम्मा भएको पैसा उठाउन बाध्य भएर अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने अवस्था आएको हो ।
नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य अर्याल एमाले पर्यटन विभाग र उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्ज समेत हुन् । उनी अघिल्लो कार्यकालमा पर्यटन बोर्डको सदस्यसमेत भएका थिए ।







प्रतिक्रिया