
सुर्खेत । धावनमार्गमा समस्या देखिएपछि सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएका सम्पूर्ण हवाई उडानहरू रोकिएका छन् । मंगलबारदेखि स्थगित भएको सेवा बिहीबारसम्म पनि हुन सकेको छैन, जसले गर्दा दैनिक रूपमा हवाई सेवा प्रयोग गर्दै आएका यात्रुहरू वैकल्पिक रूपमा झण्डै तीन घण्टा यात्रा गरी नेपालगन्ज पुग्न बाध्य भएका छन् ।
विमानस्थलको नेवार स्कुलतर्फको उत्तरी भागमा जमिनमुनिबाट पानी निस्किएपछि रनवेमा खाल्डो पर्न थालेको हो । सुरुमा मर्मत कार्य सम्पन्न गरिए पनि त्यसको १० मिटर दूरीमै पुनः पानी निस्किन थालेपछि विमानस्थल प्रमुख हिराज काफ्लेले शुक्रबारसम्मका लागि उडानहरू पूर्ण रूपमा अवरुद्ध गरिएको जानकारी दिएका छन्।
काफ्लेका अनुसार, पानी हटाउने र धावनमार्ग मर्मतको कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। शनिबारदेखि उडान नियमित गर्ने लक्ष्य राखिएको उनले बताए।
बुद्ध एयर र श्री एयरलायन्सले दैनिक रूपमा सुर्खेत–काठमाडौं रुटमा चार उडान सञ्चालन गर्दै आएका थिए। सेवा अवरुद्ध भएपछि नियमित यात्रा गर्ने सर्वसाधारण, बिरामी, कर्मचारी, विद्यार्थी तथा व्यापारीहरू सास्तीमा परेका छन्।
स्थानीय बासिन्दाहरूले खाल्डो परेको स्थान पहिले बस्ती रहेको क्षेत्र भएकाले बारम्बार पानी निस्किनु सामान्य समस्या नभएको बताएका छन्। उनीहरूले विमानस्थलको संरचना र माटोको प्रकृतिबारे वैज्ञानिक अध्ययन गर्नुपर्ने सुझावसमेत दिएका छन्।








प्रतिक्रिया