चीनका अँध्यारा कारखानाहरू: एआईको उपयोगले उत्पादनमा फड्को


काठमाडौं । चीन आधिकारिक रूपमा अँध्यारा कारखानाहरूको युगमा प्रवेश गरेको छ ।

अँध्यारो कारखाना (डार्क फ्याक्ट्री) भन्नाले मानव कामदार विनाको वा प्रकाशको आवश्यकता नभएको पूर्ण रूपमा स्वचालित उत्पादन केन्द्र बुझिन्छ । यी अत्याधुनिक उत्पादन केन्द्रहरू पूर्णतया एआईमार्फत सञ्चालित रोबोटिक्स प्रणाली, इन्टरनेट अफ थिंग्स सञ्जाल र बुद्धिमत्तापूर्ण प्रोटोकलहरूमा निर्भर छन् । यसबाट एकदमै कम ऊर्जाको खपत हुन्छ भने चौबीसै घन्टा उत्पादन गरिरहन सकिन्छ ।

पूर्ण स्वचालित उत्पादनले विश्वव्यापी वस्तु उत्पादनमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । यसमार्फत लागत घटेको छ, उत्पादन प्रक्रिया चुस्तदुरुस्त बनेको छ र औद्योगिक श्रम बजार पुनर्परिभाषित भएको छ । भविष्योन्मुख यी कारखानामा उपयोग गरिने प्रविधिहरू, तिनको आर्थिक असर र उत्पादन क्षेत्रको भविष्यमा तिनले राख्ने अर्थलाई यहाँ विश्लेषण गरिनेछ ।

कुनै पनि मानवीय हस्तक्षेप विना नै नियमित काम गर्ने उत्पादन केन्द्रलाई अँध्यारो कारखाना भनिन्छ । यी कारखानाहरू बिजुलीको प्रकाशविना नै चल्छन् किनकि रोबोट र एआईको शक्तिप्राप्त मशिनहरूलाई दृष्टि देखाइरहन पर्दैन ।
यस्ता कारखानाले कृत्रिम बुद्धिमत्ता, अन्तःसम्बन्धित इन्टरनेट अफ थिंग्स प्रणाली र रोबोटिक्समार्फत कच्चा पदार्थको व्यवस्थापनदेखि लिएर तयारी वस्तु उत्पादनसम्म सबै कुरा मिलाइदिन्छन् ।

अँध्यारा कारखानाहरूमा रोबोट प्रणालीले स्वायत्त रूपमा बहुसंख्यक उत्पादन एकैपटकमा व्यवस्थापन गर्न सक्छ ।
विशेषगरी इन्टरनेट अफ थिंग्सले यन्त्रहरूबीचको तालमेल सुनिश्चित गर्दछ । यसले गर्दा यन्त्रहरूको मर्मतसम्भार र नियन्त्रण सहज हुन्छ । स्वचालित बन्दोबस्तीको व्यवस्थाले मानवीय हस्तक्षेप विना नै वस्तुको सूची निर्माण, आपूर्ति शृंखला व्यवस्थापन र तयारी वस्तुको ढुवानी गरिदिन्छ ।

यसले गर्दा ठूलो मात्रामा वस्तु उत्पादनमा सहजता आउँछ । यन्त्रहरू विश्राम नलिइकनै चौबीसै घन्टा खटिन सक्छन् र कुनै पनि बेलामा काम रोकिँदैन । यसले कारखाना सञ्चालन खर्च पनि घटाउँछ किनकि श्रमिकलाई जस्तो गरी रोबोटलाई तलब दिनुपर्दैन र विद्युतीय वा आणविक ऊर्जाको खपत पनि हुँदैन ।

एआईबाट सञ्चालित निगरानी प्रणालीले त्रुटिरहिततालाई सुनिश्चित गरी गुणस्तरीय वस्तु उत्पादन गराउँछ ।

रोबोट र एआईले उत्पादन गरिने वस्तुको संख्या, गुणस्तरीयता जाँच र प्याकेजिङ लगायत उत्पादनका सबै पक्षको व्यवस्थापन गरिदिन्छन् । स्वचालित गोदामहरूले बन्दोबस्ती तथा वस्तुहरूको सूचीलाई हरदम ट्य्राक गरिरहन्छन् ।

इन्टरनेट अफ थिंग्ससँग जोडिएका यन्त्रहरूले तत्कालै सञ्चार गरी उत्पादनका दायराको व्यवस्थापन गर्छन् । कुनै यन्त्र बिग्रन लागेको छ भने पनि पूर्वानुमान प्रविधिका कारण बिग्रनुअघि नै त्यसको जानकारी पाइने भएकाले कारखाना बन्द गर्ने (डाउनटाइम) समय घटाउन सकिन्छ ।

मशिन लर्निङ अल्गोरिदमहरूले सूक्ष्म स्तरमा वस्तुहरूको विश्लेषण गर्छन् जसकारण कारखानाबाट ढुवानी गरिनुअघि नै कुनै वस्तुमा खोट देखिएमा त्यसलाई हटाएर मात्र पठाइन्छ ।

एआईको शक्तिप्राप्त तस्वीर पहिचान प्रविधिले उत्पादित वस्तुमा सानो तलमाथि भयो भने पनि पत्ता लगाइदिन्छ ।
अँध्यारा कारखानाहरूमा स्वचालित वायु शुद्धीकरण प्रणाली जडान गरिने भएकाले धूलो र प्रदूषण हुन पाउँदैन । औषधि र विद्युतीय सामान उत्पादनमा सुरक्षा मापदण्ड उच्च हुने भएकाले अँध्यारा कारखानाहरूले कीटाणुरहित उत्पादनको व्यवस्था गरिदिन्छन् ।

यस्ता कारखानाहरूले द्रुत गतिमा उत्पादन गर्ने भएकाले सानो खर्चमा धेरै उत्पादन गर्न सकिन्छ । एआईमा आधारित प्रणाली भएकाले वस्तुको मागअनुसार तत्कालै उत्पादन घटाउने बढाउने काम हुन्छ जसले गर्दा गोदाममा वस्तु थन्किन पाउँदैन ।

स्वचालित प्रकाश, न्यानो बनाउने र शीतल बनाउने प्रणालीका कारण ऊर्जा खपत व्यवस्थित हुन्छ र वातावरणमा नकारात्मक प्रभाव पनि पर्दैन । एआईद्वारा सञ्चालित स्रोत व्यवस्थापनका कारण एकदमै कम फोहरमैला निस्कन्छ र कार्बन उत्सर्जन पनि न्यून मात्र हुन्छ ।

चीनले एआईमार्फत हुने उत्पादनमा भारी लगानी गरिरहेको छ । विश्वको सबभन्दा ठूलो उत्पादकका रूपमा बनाएको हैसियत कायम राख्नका लागि चीनले यसमा लगानी गरेको हो ।

मेड इन चाइना २०२५ जस्ता सरकारी पहलहरूले परम्परागत श्रमिकलाई एआई र रोबोटिक्समार्फत विस्थापित गरिरहेको छ ।
विश्वका प्रमुख मोटर, विद्युतीय उपकरण तथा बन्दोबस्तीको सामान बनाउने कम्पनीहरूले संसारभरि अँध्यारा कारखाना खोल्न थालेका छन् । प्रमुख प्रविधि कम्पनीहरूले पूर्ण रूपमा स्वचालित उत्पादन केन्द्रहरूमा अर्बौं डलर लगानी गर्न थालेका छन् ।
औषधि, सेमीकन्डक्टर र एरोस्पेस जस्ता क्षेत्रमा पनि अँध्यारा कारखानाहरूको उपयोग गर्न थालिएको छ ।

मानव श्रमिक जस्तो गरी रोबोटलाई ब्रेक लिनुपर्ने, सुत्नुपर्ने वा शिफ्ट बदल्नुपर्ने झन्झट छैन । काराखानाहरूले कुनै अवरोध विना नै निरन्तर वस्तु उत्पादन गरिरहन्छन् ।

एआईले कुनै पनि वस्तुमा कुनै खोट रहेछ भने पनि तत्कालै पत्ता लगाइदिने भएकाले त्रुटिरहित वस्तुहरू बजारमा पुग्नेछन् । मशिन लर्निङका कारण उत्पादित वस्तुको गुणस्तरमा ढुक्क हुन सकिन्छ ।

अँध्यारा कारखानाका कारण मानव श्रमिकको आवश्यकता नहुने भएकाले दक्ष कामदारहरूले एआई, रोबोटिक्स र इन्जिनियरिङमा काम पाउँछन् । भविष्यमा स्वचालित प्रणाली व्यवस्थापन, सफ्टवेयर इन्जिनियरिङ र एआई प्रणाली सुपरिवेक्षण सम्बन्धी रोजगारीहरू मात्र खुल्नेछन् ।

तर अँध्यारा कारखानाहरूको विकाससँगै परम्परागत कारखानामा काम गर्ने श्रमिकहरू विस्थापित हुने जोखिम छ । यसरी बेरोजगार हुने श्रमिकहरूलाई नयाँ युगसँग अनुकूल हुने गरी दक्ष बनाउनुपर्ने चुनौती सरकार र कम्पनीहरूले बेहोर्नुपर्नेछ ।
पूर्णतया स्वचालित कारखानाहरू अन्तःसम्बन्धित एआई प्रणालीमा निर्भर भएकाले साइबर आक्रमणको जोखिम रहन्छ ।

कम्पनीहरूले ह्याकिङ र सिस्टम फेलियरको समस्यालाई रोक्नका लागि बलियो सुरक्षा उपाय अपनाउनुपर्छ ।

एआईमार्फत सञ्चालन हुने कारखानाहरूले स्वतन्त्र निर्णय लिने हुनाले जवाफदेहिता र पारदर्शिताका विषयमा नैतिक प्रश्नहरू उठ्न सक्छन् । यस्तो उत्पादन नैतिकतापूर्ण र स्वच्छ राख्नका लागि नियम बनाउनु जरूरी छ ।

भविष्यमा एआईको बलमा स्वचालित प्रणाली अपनाउने कारखाना भएका मुलुकले विश्वव्यापी उत्पादनमा प्रभुत्व कायम गर्नेछन् । परम्परागत उत्पादनमुखी अर्थतन्त्रहरूले कि त एआई अपनाउनुपर्छ कि त आर्थिक मन्दी बेहोर्नुपर्छ ।

अँध्यारा कारखानाहरू भविष्यमा हुन सक्ने कुरा हैनन्, अहिले नै तिनले विश्वव्यापी रूपमा उद्योगहरूमा परिवर्तन ल्याइरहेका छन् । एआई, इन्टरनेट अफ थिंग्स र रोबोटिक्सको उपयोग गरी यी पूर्ण स्वचालित कारखानाहरूले वस्तु उत्पादनमा अभूतपूर्व निपुणता र दिगोपना ल्याएका छन् ।