बालेनले दिएको जिम्मेवारी ३ वडाअध्यक्षले गरे अस्वीकार

2.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तोकेका नयाँ जिम्मेवारीहरू वडाध्यक्षहरूले अस्वीकार गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै वडाध्यक्षहरूले आफूहरूलाई तोकिएका जिम्मेवारीहरू कार्यपालिकाको बैठकबाट अनुमोदित नभएको जनाउँदै ती जिम्मेवारीहरू स्वीकार नगर्ने चेतावनी दिए ।

जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरूमा सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती रहेका छन् ।

‘काठमाडौं महानगरपालिकाको प्रमुखज्युको सचिवालयको च.नं. ६२०, ६२१ र ६२२, मिति २०८२।०२।०१ गतेको पत्रमार्फत हामी तपसिलका नगर कार्यपालिकाको सदस्यहरुलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ उपनियम (१) बमोजिमको तपसिलका विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएको व्यहोरा जानकारी हुन आएकोमा उक्त तोकिएको जिम्मेवारीको विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले, उपयुक्त नदेखिने हुँदा तत् तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा श्रीमान् प्रमुखज्यू समक्ष संयुक्त रुपमा जानकारीको लागि अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

मेयर शाहले जेठ १ गते केही वडाध्यक्षहरूको जिम्मेवारी खोसी अन्य वडाध्यक्षहरूलाई नयाँ जिम्मेवारी तोकेका थिए ।