नेपालमा ४६% वन राखेर विदेशबाट काठ आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ: गुरुङ

196
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले नेपालमा बढ्दै गएको वन क्षेत्र संरक्षण गरेर मात्र देशको समृद्धि नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै गुरुङले नेपालमा ४६ प्रतिशत वन राखेर विदेशबाट काठ आयात गर्नुपर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

‘नेपालको ४६ प्रतिशत वन हेरेर बस्ने र विदेशबाट काठ आयात गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । नेपालको वनलाई प्रयोग गर्ने नीति बनाउनुपर्छ,’ उनले भने ।

नेपालमा ७ सयभन्दा बढी औषधीजन्य जडिबुटी भएको भन्दै त्यसको खेती गर्न सरकारले नीति बनाउनु पर्ने उनको भनाइ छ ।

‘नेपालमा पाइने औषधीजन्य ७ सयभन्दा बढीका जडिबुटीको खेती गरौं भन्दै आएको छु तर अहिलेको नीति तथा कार्यक्रममा पनि यो कुरा समेटिएन,’ उनले भने ।

नेपालमा पाइने जडिबुटीको खेती गर्नतिर ध्यान नदिएर मात्रै पैसा छैन पैसा छैन भन्ने प्रवृत्तिले देशले विकास नहुने भन्दै त्यसतर्फ गभ्मीर बन्न उनले आग्रह गरे ।