
काठमाडौं । सवारी चालकद्वारा ट्राफिक नियम उल्लंघनका घटना पछिल्लो समय उल्लेखनीय रुपमा वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ८ लाख ९० हजारभन्दा बढी सवारी चालकहरू विभिन्न कारणले कारबाहीमा परेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५१ प्रतिशतले बढी हो ।
महालेखा परीक्षकको ६२ औं प्रतिवेदन अनुसार दुर्घटनाका प्रमुख कारणहरू मापसे, तीव्र गति, ओभरटेक लगायत रहेका छन् । गत वर्ष ५५ हजार ५६९ दुर्घटना भएका थिए भने २०७८/७९ मा यो संख्या ३६ हजार ६५८ थियो ।
नम्बर प्लेट चिन्ने प्रविधिको प्रयोग
ट्राफिक नियम पालना गराउन र डिजिटल निगरानी प्रणाली प्रभावकारी बनाउन नम्बर प्लेट पहिचान गर्ने प्रविधिको प्रयोग पनि सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका केही स्थानहरूमा यो प्रविधि जडान गरिएको छ । जसले स्वतः सवारी साधनको नम्बर प्लेट पढ्न सक्छ र ट्राफिक उल्लंघनकर्तालाई पहिचान गरी कारबाही प्रक्रिया सहज बनाउँछ।
त्यस्तै, सर्भेन्स क्यामेरा, स्पीड रडार र फ्लाइओभरमार्फत निगरानी प्रणाली पनि क्रमशः विस्तार गरिँदैछ । काठमाडौं उपत्यकामा ६५ स्थानमा सर्भेन्स प्रणाली जडान भइसकेको छ भने थप २२ स्थानमा जडानको तयारी भइरहेको छ ।
लेखापरीक्षणका क्रममा उपत्यकामा ८० सवारी चालक र ३१ ट्राफिक प्रहरीबाट लिइएको प्रतिक्रिया अनुसार ट्राफिक व्यवस्थापन सुदृढीकरणका लागि ६३.१५ प्रतिशतले आवश्यकताअनुसार पूर्वाधार, फ्लाइओभर र करिडोर निर्माण गर्नुपर्ने बताएका छन् । यस्तै, २२.३६ प्रतिशतले ट्राफिक बत्ती, साइड वॉक तथा जक्शन व्यवस्थापन आवश्यक रहेको जनाएका छन् ।
सर्वेक्षणमा सहभागी ७४ प्रतिशत चालकहरूले ट्राफिक नियमबारे पूर्ण जानकारी रहेको बताएका छन् भने ५८ प्रतिशतले ट्राफिक नियम उल्लंघन गर्ने प्रमुख कारण व्यक्तिगत लापरवाही रहेको जनाएका छन् । धेरैले ट्राफिक जाम, सडकको अवस्था, अस्थायी अवरोध र सार्वजनिक यातायातको अव्यवस्था ट्राफिक उल्लंघनका अन्य कारण भएको बताएका छन्।
ट्राफिक नियम पालना
उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रतिवेदन अनुसार चालकको लापरबाही, मादक पदार्थ सेवन (मापसे), तीव्र गति तथा ओभरटेक जस्ता मानवीय कारणबाट २०७७/७८ देखि २०८०/८१ सम्म ३८ हजार ६ सय दुर्घटना भएको देखिन्छ । लेन अनुशासन पालना नगर्नेको सङ्ख्या २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशतले वृद्धि भई ६३ हजार पुगेको, ट्राफिक बत्तीको पालना नगर्ने सवारी चालकहरु २०८०/८१ मा अघिल्लो वर्षको हाराहारी ३० हजार रहेको पाइएको छ ।
उपत्यकाका तीन स्थानमा नम्बर प्लेट चिन्ने स्वचालित क्यामेरा जडान गरी तीव्र गतिमा सवारी चलाउनेलाई कारबाही गरेकोमा अघिल्लो वर्षको तुलनामा २०८०/८१ मा १३४ प्रतिशतले वृद्धि भई कारबाही सङ्ख्या १ लाख ३७ हजार पुगेको देखिएको प्रतिवेदनमा जनाइएको छ । लेन अनुशासन पालना नगर्ने र तिव्र गतिमा सवारी चलाउनेको सङ्ख्या अघिल्लो वर्षभन्दा बढ्नुमा स्वचालित क्यामेराको प्रयोगबाट निगरानी गरी कारबाही गर्नु रहेको देखिन्छ ।
ललितपुर र काठमाडौं महानगरपालिका, विभिन्न बैङ्क तथा वित्तीय संस्था र स्थानीय क्लबहरुसँग समन्वय गरी उपत्यकाका ६५ स्थानमा ( १२ जेब्राक्रसिङ्गको लागि ) ट्राफिक बत्ती जडान भएकोमा ४३ स्थानका ट्राफिक बत्ती सञ्चालनमा रहेका र २२ स्थानका सडक बत्ती चालु अवस्थामा छैनन् ।
ललितपुर महानगरपालिकाले जडान गरेका ५ स्थानका स्मार्ट ट्राफिक बत्तीले समेत सामान्य ट्राफिक बत्ती सरह नै कार्य गरेको देखिन्छ । उपत्यकाभित्रका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गर्नको लागि सडक विभागले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको भए तापनि सोको पूर्ण कार्यान्वयन गरेको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया