
काठमाडौं । सरकारले विशिष्ट प्रकृतिको आयोजना भनेर तोकेको रुपान्तरणकारी योजनाहरुको अवस्था निक्कै दयनीय पाइएको छ ।
सरकारले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजना, नारायणघाट–बुटवल सडक योजना, कञ्चनपुर–कमला सडक योजना, काँकडभिट्टा लौकही सडक योजना, बुटवल –गोरुसिङ्गे –चन्द्रौटा सडक योजना र कमला–ढल्केवर–पथलैया सडक योजनालाई रुपान्तरणकारी योजनामा सूचीकृत गरेको छ ।
पन्ध्रौं योजनाले लिएको राष्ट्रिय लक्ष्य हासिल गरी मुलुकको समग्र अर्थतन्त्र र सामाजिक विकासमा उल्लेख्य सहयोग गर्ने उद्देश्यले सरकारले यस्ता योजनालाई रुपान्तरणकारी योजनामा सूचीकृत गरेको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार रुपान्तरणकारी योजनामा समावेश भएका यी ६ वटै योजनाको अवस्था सन्तोषजनक छैन ।
‘योजनाहरुको प्रगति न्यून देखिएकाले त्यसको विश्लेषण गरी देखिएका समस्या निराकरण गरी योजनाको कार्यसम्पादनलाई प्रभावकारी बनाउनु पर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार धादिङ्गको गल्छीदेखि रसुवाको रसुवागढीसम्म ८२ किलोमिटर खण्डमा पुलसहित कालोपत्रे गर्ने लक्ष्यका साथ १५ अर्ब ५० करोड लागत अनुमानमा २०७२/७३ मा सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजनाले ११ वर्षमा ५९.६१ प्रतिशत मात्रै वित्तीय र ६०.१३ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक खण्डमा ३२ पुल निर्माण र ६ स्थानमा पहिरो नियन्त्रण गर्ने लक्ष्य राखिएको थियो । अहिले संशोधित कार्यतालिका अनुसार यसको निर्माण सम्पन्न गर्ने अवधी आगामी आर्थिक वर्ष २०८३/८४ तोकिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ सम्म यो योजनाले ९ अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ । उक्त आर्थिक वर्षसम्म ३७.५ किलोमिटर कालोपत्रे र १७ वटा पुल निर्माण सम्पन्न भएको छ भने एक स्थानमा फ्लाईओभरको सम्भाव्यता अध्ययन र २ स्थानमा पहिरो नियन्त्रणको काम भइरहेको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) सडक सुधार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवलसम्म ११३ किलोमिटर सडक विस्तार गर्ने गरी आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको यो योजनाको अवस्था पनि पछिल्लो ६ वर्षमा उत्साहजनक नभएको प्रतिवेदनले औल्याएको छ ।
आर्थिक वर्ष २०७९/८० भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको नारायणघाट–बुटवल सडक खण्डमा ४६२ कल्भर्ट, ४३ साना पुल र २१ प्रमुख पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो ।
निर्माण सम्पन्न गर्ने अवधी लम्बिँदै गएपछि यसको लागत खर्च पनि बढेको छ । यो योजनाको सुरुआति लागत १६ अर्ब ९९ करोड थियो । अहिले लागत संशोधन १७ अर्ब २ करोड र तेश्रो पटक म्याद थप गरी निर्माण सम्पन्न हुने अवधी आगामी आर्थिक वर्ष २०८६/८७ तोकिएको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा यो योजनाले चार लेनको २६.४४ किलोमिटर र २२.१२ किलोमिटर खण्डमा दुई लेनको कालोपत्रे, ६ मुख्य पुल, ३८० कल्भर्ट र ३९ सानो पुलको निर्माण सम्पन्न गरेको छ ।
हालसम्म यो योजनाले ४५.२६ प्रतिशत वित्तीय प्रगति र ५२.५३ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
सासेक सडक सुधार आयोजनाअन्तर्गत नै एसियाली विकास बैंकको ऋण सहयोगमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरकिो कञ्चनपुर–सिराहाको कमला नदीसम्म ८६.८३ किलोमिटर सडक खण्डको निर्माण आर्थिक वर्ष २०७७/७८ मा सुरु भएको थियो।
आर्थिक वर्ष २०८०/८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो योजनाअन्तर्गत ४ लेन सडक, १६.५० किलोमिटर सर्भिस लेन, २१८ कल्भर्ट र ५४ प्रमुख पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । यसको लागत २४ अर्ब ४९ करोड रुपैयाँ थियो ।
तर निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि कार्यतालिका संशोधन गरी यसको निर्माण अवधी चालु आर्थिक वर्ष २०८१/८२ तोकिएको छ । तर यो आर्थिक वर्षमा पनि निर्माण सम्पन्न हुने काँटछाट देखिएको छैन । किन भने आर्थिक वर्ष २०८०/८१ सम्ममा भौतिक प्रगति ५०.८९ प्रतिशत र वित्तीय प्रगति ४१.१९ प्रतिशत मात्रै हासिल गरेको छ ।
हालसम्म यो योजनाअन्तर्गत ५४.८१ किलोमिटरमा दुई लेनको बाइन्डर कोर्स तयार भएको छ भने ३३.४४ किलोमिटर खण्डमा दुई लेन आस्फाल्ट कंक्रिट कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । यस्तै २१४ कल्भर्टको निर्माण सम्पन्न र निर्माणाधिन ५१ पुलमध्ये २५ पुलको सुपरस्ट्रक्चरको काम सम्पन्न भएको छ ।
सासेक राजमार्ग सुधार आयोजनाअन्तर्गत एसियाली विकास बैंककै ऋण सहयोगमा पूर्व–पश्चिम राजमार्गअन्तर्गतकै अर्को महत्वपूर्ण सडक खण्ड झापाको काँकडभिट्टा– सुनसरीको लौंकहीसम्मको ९५.६७ किलोमिटर सडक खण्ड आर्थिक वर्ष २०८०/८१ मा सुरु भएको थियो ।
निर्माण सम्पन्न गर्ने अवधी आगामी आर्थिक वर्ष २०८४/८५ तोकिएको यो योजनाअन्तर्गत ४ लेनको सडक, ६ प्रमुख पुल, २१ ठूलो पुल र ७१ साना पुल र कल्भर्ट निर्माण गर्ने योजना थियो । यसको लागत खर्च ३४ अर्ब ९१ करोड थियो ।
आर्थिक वर्ष २०८०/८१ सम्म यो योजनाले ६.५० प्रतिशत वित्तीय र ४.१६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
यस्तै सासेकअन्तर्गत नै पूर्व–पश्चिम राजमार्गको १३० किलोमिटरको सिराहाको कमला–बाराको पथलैयासम्मको सडक खण्ड आगामी आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
४८ अर्ब लागत रहेको यो योजनाअन्तर्गत ५ अन्डरपास, ६० पुल र १५७ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८०/८१ सम्ममा ७५ किलोमिटरको कमला–ढल्केवर वागमती सडक खण्डको लागि ठेक्का आह्वानका साथै मूल्याँकन र जग्गा प्राप्तिको पूर्व तयारी भइरहेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै विश्व बैंकको ऋण सहयोगमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत २०४.६ मिलियन एसडीआर(स्पेशल ड्रवीङ राइट–अन्तर्राष्ट्रिय आरक्षित सम्पति) को लगानीमा रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्म ६९ किलोमिटर सडक खण्डमा सर्भिस लेनसहित चार लेनमा सडक विस्तारको योजना थियो ।
आगामी आर्थिक वर्ष २०८९/९० भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक खण्डअन्तर्गत १३ अर्ब ५५ करोड ६६ लाख रुपैयाँबराबरको खरिद कार्य सम्झौता भएर ११ करोड रुपैयाँ मोबिलाइजेसन पेस्की भुक्तानीसमेत भइसकेको छ ।







प्रतिक्रिया