बाबुरामको प्रश्न: छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?

119
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने जिकिर गरे । उनले नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्व र गरीमा बुझाउनुपर्ने धारणा राखे । उनले नेपाल भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्ने विश्वास व्यक्त गरे । युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने सङ्कल्प गर्नुपर्ने उनको जिकिर छ ।

संघीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै सङ्घीयतालाई जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने उनले बताए ।

‘ नेपाल भन्ने देशलाई साँच्चिकै माया गर्ने हो, यसको स्वाधीनताको रक्षा गर्ने हो, यसलाई सबैको साझा देश बनाउने हो, तपाईं हाम्रा छोराछोरी वाक्क दिक्क भएर देशमा टिकाउन गाह्रो भएको छ । आफ्नै छोराछोरीलाई सपना देखाउन सक्दैनौँ भने तपाईँ हामीले राजनीति गरेर, मन्त्री भएको के अर्थ रहन्छ ? यो देशलाई हामीले ठिक ढङ्गले बुझाउन सकेनौँ,’ उनले भने, ‘ एकातिर, यसको औचित्य, महत्व र गरीमा बुझाउन सकेनौँ । अर्कोतिर यो देश बन्छ, हामी भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेका छन् । हाम्रो नि गर्न सकिन्छ भन्ने सपना देखाएर त्यसलाई बिपनामा परिणत गर्ने सङ्कल्प गरौँ । सङ्घीयता भनेको लोकतन्त्रको अभिन्न अङ्ग हो । सङ्घीयतालाई जति बलियो बनायो, उति नै लोकतन्त्र बलियो हुन्छ । देश समृद्ध बन्छ ।’

उहाँले सङ्घीयता र समावेशिता लोकतन्त्रका लागि उत्तिकै महत्वपूर्ण पाटो रहेको समेत जिकिर गर्नुभयो ।– न्युज एजेन्सी नेपाल