पुनःनिर्माणका लागि आगामी वर्ष अन्तर्राष्ट्रिय दाता सम्मेलन गरिने



काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि आगामी वर्ष असार मसान्तभित्र अन्तरराष्ट्रिय दाता सम्मेलन आयोजना गर्ने भएको छ ।

भूकम्पपछिको पुनःनिर्माणका लागि अर्को वर्ष करिब साढे तीन खर्ब रुपैयाँ आवश्यक हुने भएकाले प्राधिकरणले दाता सम्मेलन गर्न लागेको रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए । पुनःनिर्माणका लागि चालू आवसम्म रकमको कुनै अभाव नहुने उनको भनाइ थियो ।

भूकम्पबाट करिब सात खर्ब रुपैयाँको नोक्सानी भए पनि पुनःनिर्माणका लागि झन्डै नौ खर्ब रुपैयाँ चाहिने प्राधिकरणको प्रक्षेपण रहेको उनले बताए ।

‘हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौँ, दाता सम्मेलनको आयोजना गर्नेबारे हाम्रो सोच बनिसकेको छ,’ उनले भने ।

चालू आवमा चुनावका  कारण बैंकमा समेत पैसाको अभाव रहेकाले विभिन्न बैंकसँग अनुदान दिनेबारे छलफल भइरहेको जानकारी दिँदै उनले भने, ‘हामी उहाँहरुसँग चरणबद्ध छलफलमा छौँ, ७५३ वटै स्थानमा बैंक शाखा खोल्नुपर्ने प्रावधान छ, उहाँहरुले सबैको सुरक्षा र प्रत्याभूति खोज्नुभएको छ, अहिले छलफल चलिरहेको छ ।’

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये १३१ स्थानीय तहका एक हजार १९६ वडामा प्राविधिक खटाइएको जनाइएको छ ।


क्लिकमान्डु