अनमोल ब्रान्डको आँटा बेच्ने कम्पनीको व्यापार ५२% ले बढ्यो, कतिको गर्‍यो कारोबार ?

70
Shares

काठमाडौं । नेपाली बजारमा अनमोल ब्रान्डको चक्की आँटा, चोकर, मैदा, सुजी र अन्य खाद्यान्न बिक्री वितरण गर्दै आएको माँ दुर्गा फुड्स प्रालिको व्यापार ५२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ५२ प्रतिशतले बढेको हो ।

सन् २०२३ मा ५६ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापार सन् २०२४ मा बढेर ८५ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२४ मा बिक्री उच्च हुँदा व्यापार रिबाउन्ड भएको छ । त्यस्तै कम्पनीले ०.६१ प्रतिशत खुद नाफा कमाएको छ ।

सन् २०१४ मा स्थापना भएको कम्पनीले गहुँ प्रशोधन गरी पिठोजन्य वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको दुईवटा उद्योग छन् । जसमध्ये एउटा उद्योगले दैनिक २४० मेट्रिक मैदा उत्पादन गर्छ भने अर्को उद्योगले ८० मेट्रिक टन चक्की आटा उत्पादन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८ करोड ७ लाख रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड ३५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८० करोड ४३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

अनुज रुङ्गाटा अध्यक्ष रहेको कम्पनीको देशभर वितरक नेटवर्क छन् । कम्पनीले १ केजीदेखि ५० केजीसम्मको प्याकेटमा आफ्नो सामग्री बिक्री वितरण गर्दै आएको छ ।