
काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको स्वामित्वमा रहेको सिजी हस्पिटालिटीले फिलिपिन्सको फिलिपिन वेलनेस सेन्टरलाई अटोग्राफ कलेक्सन रिसोर्टमा परिणत गर्नका लागि म्यारिएट इन्टरनेसनलसँग सम्झौता गरेको छ ।
दक्षिणी मनिलामा रहेको द फार्म एट सान बेनिटोलाई म्यारिएटले नयाँ ढाँचामा ढालेर व्यवसाय गर्ने तयारी गरेको हो । जुन फिलिपिन्समा पहिलो अटोग्राफ कलेक्सन रिसोर्टको रुपमा स्थापित हुनेछ ।
नेपाली बिलिनियरले फिलिपिन्सको रिसोर्टलाई म्यारिएट सम्पत्तिको रुपमा रिब्रान्ड गर्न लागेका हुन् ।
नयाँ मोडलको उक्त रिसोर्ट २०२५ को अन्तिम त्रैमासमा खुल्ने छ । म्यारिएट इन्टरनेसनलका एसिया प्यासिफिक प्रमुख राजीव मेननले यो निर्णयलाई पर्यटनको नयाँ गन्तव्यमा उदाइरहेको फिलिपिन्समा आफूहरुको समय सापेक्ष र रणनीतिक निर्णय भएको प्रतिक्रिया दिएका छन् ।
फिलिपिन्समा प्राकृतिक सौन्दर्य र आकर्षक गन्तव्य रहेको भन्दै राजीवले अटोग्राफ कलेक्सन रिसोर्ट सान्दर्भिक रहेको जनाए।
चौधरीले फिलिपिन्सका अर्बपति एन्ड्रयु ट्यानको रियल इस्टेट डेभलपर मेगावर्ल्ड कर्पसँग सम्झौता गरेको ९ महिनापछि सान बेनिटोको फार्मलाई म्यारिएटको अटोग्राफ कलेक्सनमा रिब्रान्ड गरेका हुन् ।
जसअनुसार वेलनेस रिसोर्टसँगै २०८ मिलियन अमेरिकी डलर लागतमा नयाँ बस्ती नै बसाएर पर्यटकको संख्या बढाउने चौधरीको तयारी छ ।
उक्त रिसोर्ट अटोग्राफ कलेक्सन रिसोर्टमा परिणत भएपछि ५२ हेक्टर जमिन ओगट्नुका साथै ७० वटा बेडरुमसहित एककोठे भिल्ला निर्माण हुने बताइएको छ । साथै यसमा २ र ४ बेडरुमसहितका विशेष स्विमिङ पुल पनि हुने कम्पनीले जनाएको छ ।
यससँगै म्यारिएट इन्टरनेसनलले यस रिसोर्टबाट यस क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्ने विनोद चौधरीले बताएका छन् । रिसोर्टमा आकर्षक र रोमान्चक फिचरहरु पनि राखिने उल्लेख छ ।
नेपाली डलर अर्बपति चौधरीले विभिन्न १२ देशहरुमा १९० वटा व्यवसाय सञ्चालन गर्दै आएका छन् । चाउचाउ उत्पादक उद्यमीबाट विश्वभर चिनिएका चौधरीले पछिल्लो समय पर्यटक तान्ने रिसोर्टमा लगानी बढाउनुलाई चासोका साथ हेरिएको छ । विशेषगरी फिलिपिन्स पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यको रुपमा चिनिँदै गरेको छ ।
यस्तैमा चिनियाँ, भारतीयसहितका व्यवसायीहरु फिलिपिन्समा आकर्षित भइरहेको बेला चौधरी पनि उनीहरुसँग प्रतिस्पर्धा गर्न तयार भएका छन् ।
सीजी होस्पिटालिटी चौधरी ग्रुपअन्तर्गतको दीर्घकालीन रणनीतिक लगानीमा विश्वास राख्ने कम्पनी हो । कम्पनीले आतिथ्य क्षेत्र (हस्पिटालिटी सेक्टर) मा लगानी गर्ने लामो इतिहास बनाएको छ । साथै, आफ्नै हस्पिटालिटी म्यानेजमेन्ट कम्पनी भएको कारण सीजीले उत्कृष्ट होटल अभ्यास अपनाउन र १९ वर्षभन्दा बढी समयदेखि आफ्नो विशिष्ट व्यवसाय मोडेल तथा मूल्यप्रतिको प्रतिबद्धतामार्फत होटल सञ्चालन गरिरहेको छ ।
सीजी होस्पिटालिटीले विश्वव्यापी व्यवस्थापन कम्पनी सीजी होटल्स एण्ड रिसोर्ट्स को स्वामित्व लिएको छ, जसले मध्यस्तरीयदेखि लिएर उच्चस्तरीय (लक्जरी) होटलहरू सञ्चालन र स्वामित्व गर्दछ । द जिन्क, द फर्न ब्रान्डहरू (जसलाई संयुक्त उद्यम कम्पनी कन्सेप्ट हस्पिटालिटीमार्फत सञ्चालन गरिन्छ) मार्फत सेवा प्रदान गर्दै आएको छ । नवीनता, जोस र दूरदर्शिता मार्फत सीजी हस्पिटालिटीले आफूले आतिथ्यताको सीमाहरू पार गरेको तथा परम्परागत सौन्दर्य र मूल्यहरूमा सम्झौता नगरी समकालीन उत्कृष्टता झल्काउने मोडेलहरूलाई अंगालिरहेका दाबी गर्दछ ।
२०० वर्षभन्दा बढीको संयुक्त आतिथ्य अनुभव बोकेको विशेषज्ञहरूको टोलीले सीजी हस्पिटालिटीको नाम सफलता र सन्तुष्टिको पर्याय बनाएको कम्पनीको दाबी छ । यिनै कुशल र समर्पित कर्मचारीहरूको कारण सीजी हस्पिटालिटी लक्जरी होटल, व्यापारिक वर्गका होटल, सफारी लज, रिसोर्ट र स्पा, मध्यमस्तरीय होटल, होलिडे डेस्टिनेशन र विश्वस्तरीय आवास जस्ता सबै क्षेत्र वर्गमा परिचित भइसकेको छ ।

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति २ अर्ब अमेरिकी डलर छ । सन् २०२४ को तुलनामा उनी २०० मिलियन धनी भएका छन् ।
सन् २०२३ र २४ मा चौधरीको सम्पत्ति १ अर्ब ८०० मिलियन अमेरिकी डलर थियो । सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७०० मिलियल रहेका चौधरीको कुल सम्पत्ति त्यसयता घटेको थियो ।
फोब्र्सले हालै प्रकाशन गरेको ३ हजार २८ जना सम्मिलित नयाँ सुचीमा उनी १७६३ औं नम्बरमा छन् । ६९ वर्षिय उनी चौधरी ग्रुपको अध्यक्ष हुन् ।
चौधरीको प्रमुख सम्पत्ति देशकै ठूलोमध्येको एक नबिल बैंकमा रहेको लगानी र नेपालको लोकप्रिय वाइ वाइ चाउचाउ उत्पादन गर्ने सीजी फुड्स हुन् । वाइ वाइको भारत, सर्बिया र बंगलादेशमा पनि उत्पादन कारखानाहरू छन् । हालै इजिप्टमा पनि नयाँ कारखाना निर्माण भइरहेको छ । कम्पनीले चाँडै नै विभिन्न प्रकारका चटनी (सस) बजारमा ल्याउने योजना बनाएको छ ।
विश्वभरका १४३ होटलमा चौधरी ग्रुपको स्वामित्व वा व्यवस्थापन छ । यो सूचीमा भारतको ताज होटल चेन पनि पर्दछ जहाँ चौधरीको प्रत्यक्ष लगानी छ ।
चौधरीका छोराहरू निर्वाण, राहुल र वरुण उनको व्यवसाय सञ्चालनमा साथ दिन्छन् । निर्वाण नेपालमा छन् भने राहुल र वरुण विदेशमा बस्छन् । निर्वाण र राहुल सीजी समूहका प्रबन्ध निर्देशक हुन् ।








प्रतिक्रिया